मिडल कुबिण्डे उद्यमी सुकमाया तामाङलाई ग्वाला रत्न पुरस्कार
गान्तोक: राजधानीस्थित मनन केन्द्रमा राज्यस्तरीय ग्वाला दिवस पालन गरियो। राज्यस्तरीय ग्वाला दिवसको अवसरमा सिक्किम सरकारका कृषि एवं पशुपालन विभागीय मन्त्री पूरण गुरूङ मुख्य अतिथिका रुपमा उपस्थित थिए। साथमा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा, पर्यटन विभागीय मन्त्री टीटी भोटिया, विधायकहरु एनबी प्रधान, लोकनाथ शर्मा, रिक्सल दोर्जी भोटिया लगायत वरिष्ठ अधिकारीहरु र कर्मचारीहरुको सहभागिता थियो। कार्यक्रमको मुख्य आकर्षण यस वर्षको ग्वाला रत्न पुरस्कार वितरण थियो। जसअन्तर्गत मिडल कुबिण्डे सहकारी समितिकी सुकमाया तामाङलाई उक्त पुरस्कारद्वारा अलङ्कृत भइन्। मुख्य अतिथिका बाहुलीबाट उनलाई नगद राशी साथै पुरस्कार प्रदान गरियो। उनले यो वर्ष दूध सहकारी संगठन सिक्किमलाई ३५,३७६ लिटर बिक्री गरेकी थिइन्। उनले सरकारबाट प्राप्त गर्ने प्रति लिटर ८ रुपियाँको दरले कूल २,८३,००८ प्रोत्साहन राशी प्राप्त गरेकी छन्। यसरी नै नाम्ची जिल्लामा सबैभन्दा धेरै दूध उत्पादन गर्ने जिल्ला घोषित गरियो। सोही प्रकारले विभिन्न एमपीसीएसहरूलाई पनि विभिन्न पुरस्कारले पुरस्कृत गरियो। जसमा, राज्यमा सबैभन्दा धेरै दूध उत्पादन गर्ने एमपीसीएसको प्रथम पुरस्कार मल्लीले प्राप्त गऱ्यो भने दोस्रो बेन अनि तेस्रो पुरस्कार नैतामले जित्न सफल बन्यो। विभिन्न पुरस्कार विजेताहरूलाई मुख्यमन्त्री प्रेमसिंह तामाङको पक्षबाट प्रदान गरिएको 24 लाख रुपियाँ मुख्य अतिथि मन्त्री गुरूङले प्रदान गरे। यसरी नै सिक्किम मिल्कका प्रथम प्रबन्धक निदेशक डा. आरके मक्रान्दी डा. पीपी शर्मा अनि सबै भन्दा धेरै सेवा पुऱ्याउने अधिकारीहरूलाई पनि सम्मानित गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री गुरूङले ग्वाला दिवसको अवसरमा सबै ग्वालाहरूलाई बधाई अनि शुभकामना दिए। मुख्यमन्त्री प्रेमसिंह तामाङको ग्वालाहरूप्रतिको सम्मानको कारण नै राज्यस्तरीयरुपमा ग्वाला दिवस मनाउने प्रथा शुरू भएको दाबी गरे। यसले सरकार ग्वालाहरूको कल्याणका निम्ति कति गम्भीर छ भन्ने प्रष्ट भएको अवगत गराए। मन्त्री गुरूङले युवाहरूलाई अनलाइन जुवा अनि ड्रग्सको कुलतबाट टाडा राख्नको निम्ति सबै एमपीसीएस अनि ग्वालाहरू भूमिका निर्वाह गर्नुपर्ने आग्रह गरे। युवाहरू केवल सरकारी नोकरीको पछि मात्र नलागेर अब गाईपालन जस्तो व्यवसायमा पनि लाग्नुपर्ने आग्रह गरे। वर्तमान परिपेक्ष्यमा दूधको मागमा धेरै वृद्धि भएको कारण उपभोक्ताहरूको मागलाई पुरा गर्न युवाहरू अघि आउनुपर्ने सुझाउ दिए।