गान्तोक: सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विधायक आदित्य गोलेले आज राजधानीस्थित मैत्रीय मञ्जरी पार्क नजिक रिजपार्कबाट १४ दिवसीय सिक्किम पर्यावरण पर्वअन्तर्गत तेस्रो संस्करणको शुरु गरे। १४ दिवसीय लामो यस पर्व आजदेखि शुरू भएर आगामी १४ जुलाईको दिन समापन हुने छ। पर्यावरण संरक्षणप्रति प्रतिवद्धताको भावना देखाउँदै वन्यप्राणी एवं पर्यावरण संरक्षणबारे आम मानिसहरूलाई सचेत गराउने उद्देश्यले अभियान शुरू गरिएको हो। यस वर्ष पर्वको थिम ‘हरियो विरासत छोड्नुहोस्’ रहेको थियो। कार्यक्रम सिक्किम सरकारको वन तथा पर्यावरण विभागद्वारा आयोजन गरिएको हो। राज्यको विभिन्न जिल्लामा पर्यावरण संरक्षणमा केन्द्रित विभिन्न प्रकारको गतिविधिहरू आयोजन गरिने लक्ष्य राख्दै बिरूवारोपन अभियान, सफाई अभियान र पदयात्रा, र्याकली, हरियो रील, हरियो प्रश्नोत्तरी प्रतियोगिता, निबन्ध, चित्रकला, कार्यशाला, सचेतना कार्यक्रम लगायत अन्य कार्यक्रमहरू सामेल रहेको छ। यस क्रमअन्तर्गत आगामी ७ जुलाईको दिन पालन गरिने धरती मातालाई एक दिन पनि समावेश गरिएको छ। जसमा बिहान ११ बजीदेखि ७ मिनटसम्म सबै वाहनहरू रोकिने छ। विधायक आदित्य गोलेले आफ्नो सम्बोधनमा कार्यक्रममा धेरै मानिसहरूको सहभागिता देखेपछि खुशी व्यक्त गरे। विधायकले वन्यजन्तु संरक्षणको पहल सिक्किम भन्दा बाहिर देशका हरेक क्षेत्रमा पुग्ने आशा व्यक्त गरे। पर्यावरण पर्वको तत्वावधानमा विभिन्न गतिविधिमार्फत वन्यजन्तु र पर्यावरण संरक्षणको लागि गरिएको पहलको लागि मुख्यमन्त्री, सचिव, वरिष्ठ अधिकारीहरू र कर्मचारीहरूलाई धन्यवाद दिए। कार्यक्रमको क्रममा विधायक गोले र वन तथा पर्यावरण विभागीय सचिव प्रदीप कुमारले बिरुवा वितरण भ्यानलाई झण्डा देखाएर प्रस्थान गराए। सोही प्रकारले वन्य तथा पर्यावरण विभागका एसीसीएफ डा. पी सेन्थिल कुमारले दस किलोमिटर लामो ग्रीन वकलाई झण्डा हल्लाएर प्रस्थान गराए। यस अवसरमा कूल २८८ जनाले ५ किलोमिटर र १० किलोमिटर दौडमा सहभागिता जनाएका थिए। उक्त प्रतियोगिता रिज पार्कबाट शुरू भएर स्वास्तिक, बुर्तुक हुँदै पुनः रिज पार्कमा आएर समापन भएको थियो। महिलाहरूको निम्ति आयोजित ५ किलोमिटर लामो खुल्ला वकमा इशा शर्मा प्रथम भएकी छन् भने डिकी छोडेन भोटिया दोस्रो र फुर्सोङमित लेप्चा तेस्रो स्थान ओगटन सफल भइन्। यसरी नै पुरूषवर्गको निम्ति आयोजित ५ किलोमिटर ग्रीन वकमा सजल गुरू प्रथम भएका छन्। बुदिमान गुरूङ दोस्रो र रोहित कुमार तेस्रो भएका छन्। सोही प्रकारले महिलावर्गको निम्ति आयोजित १० किलोमिटर खुल्ला दौडमा बिनिता कामीले प्रथम स्थान ओगटन सफल बनेकी छन् भने सबिना राई दोस्रो र श्रुति राई तेस्रो भएकी छन्। यसरी नै पुरूषवर्गको निम्ति दस किलोमिटर लामो खुल्ला दौड प्रतियोगितामा मनोज विश्वकर्मा प्रथम बने भने मोहित पटेल दोस्रो र पेम्पा छिरिङ शेर्पा तेस्रो भएका छन्।