गेजिङ: लोकसभा सांसद इन्द्रहाङ् सुब्बाको अध्यक्षतामा गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक महत्वपूर्ण समन्वय सभा सम्पन्न भयो। सभामा गेजिङ जिल्लामा देखिएको टेलिकम्युनिकेशन समस्या तथा समाधानका उपायहरूमाथि गम्भीरतासित छलफल गरियो। सभामा जिल्लापाल, टेलिकम विभागका उपमहानिर्देशक, जिल्ला पुलिस प्रमुख, सशस्त्र सीमा बलका कमान्डेन्टहरू, पावर विभाग तथा वन विभागका प्रतिनिधिहरू, देन्ताम तथा योक्सोमका महकुमा अधिकारीहरू, गेजिङ, याक्सोम, देन्ताम, चोङराङ तथा हि–मार्ताम ब्लक विकास अधिकारीहरू साथै भारतीय दुरसचार निगम उप–डिभिजनल इञ्जिनियरको उपस्थिति रहेको थियो। सभामा सीमावर्ती क्षेत्रका चौकीहरूमा अत्यावश्यक बीएसएनएल लाइनहरू स्थापनाको लागि विशेष जोड दिइएको थियो। जसले संवेदनशील क्षेत्रहरूमा सुरक्षित र निर्बाध सञ्चार सुनिश्चित गर्न मद्दत पुऱ्याउने आशा गरिएको छ। गेजिङ जिल्लाभरिका सबै महकुमा कार्यालयहरू, खण्ड कार्यलयहरू र पुलिस चौकीहरूमा बीएसएनएलको ब्रडब्यान्ड जडान गर्ने निर्णय पनि बैठकमा गरियो। जसले प्रशासनिक कामकाजलाई प्रभावकारी बनाउन र जनसेवा प्रवाहलाई सहज तुल्याउन सहयोग गर्ने दाबी गरेको छ। सांसद सुब्बाले सभालाई सम्बोधन गर्दै सम्बन्धित मन्त्रालय तथा विभागहरूसँग समन्वय गरी उठाइएका समस्याहरू समाधान गर्न पूर्ण सहयोग रहने प्रतिबद्धता गरे। उनले सुदूर तथा सीमावर्ती क्षेत्रहरूको सञ्चार पूर्वाधार सुदृढ गर्न प्रमुख प्राथमिकता रहेको भन्दै समावेशी विकास र राष्ट्रिय एकताका लागि सञ्चार सञ्जालको भूमिका अपरिहार्य रहेको उल्लेख गरे।











