तीनधारेमा गोरामुमोको सांगठनिक सभा सम्पन्न

IMG-20250630-WA0127

खरसाङ: तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठन भवनमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तीनधारे सुकना समष्टिको एक सांगठनिक सभा समष्टि अध्यक्ष जेबी गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभालाई समष्टिको मूल सचिव प्रमोद थापाले स्वागत वक्तव्य राखेका थिए। सभामा समष्टि युवा एकाइका सभापति अमीत प्रधानले भने, हामी अनि हाम्रो पार्टी आर्थिक रूपमा कमी छौँ होला तर हाम्रो मनोबल उच्च छ। हामीसंग एउटा उद्देश्य छ । एउटा लक्ष्य छ। एउटा निश्चित मुद्दा छ। यसर्थ पार्टीलाई सुदृढ पार्न कम्बर कस्नुपर्छ।’
सभालाई सभाध्यक्ष जेबी गुरूङले सम्बोधन गर्दै भने, आज हाम्रो पहाडको राजनैतिक समीकरणमा नौलो नौलो प्रयोग अनि परिवर्तन देखा पर्दैछ। एक सुनौलो घामको किरण यो गोर्खे आकाशमा उदाउने तर्खरमा रहेको छाँटकाँट भान भईरहेको छ। पहाडको सबै पार्टी एकै मुखे अनि एक स्वरमा भट्याउने भएको छ। तर सबै पार्टी आ-आफ्नो वर्चस्व कायम राख्न दौडधुप पनि गरिएको छ। हामी पनि यो दौडमा पछि पर्नु हुँदैन। हाम्रो पार्टीलाई सांगठनिक रूपमा सुदृढ पार्न तन-मन धनले लागि पर्नु पर्छ।’
उनले हाम्रो पार्टीको संस्थापक अध्यक्ष अतुल्य सुवास घिसिङले देख्न भएको सपनालाई बिपना बनाउन सबै लागि पर्न निवेदन गर्दै सबैलाई सभामा उपस्थितिको निम्ति धन्यवाद ज्ञापन गरे। सभालाई समष्टि सह-सचिव सुमन गुरूङले सञ्चालन गरेका थिए। सभामा पार्टीको वरिष्ठ सदस्य जीएस लामा, शिला प्रधान, अनिता लामा अनि विभिन्न शाखाको प्रतिनिधिहरू उपस्थित थिए भनी गोरामुमो तीनधारे सुकना समष्टिको प्रचार प्रसार सचिव पूर्ण गुरूङले जानकारी गराएका छन्।

About Author

Advertisement