खरसाङ: राज्य र जीटीए स्वास्थ्य विभागका अधिकारीहरूले आईतबार घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रको भ्रमण गरेका छन्। यस भ्रमण टोलीमा उत्तर बंगाल स्वास्थ्य निर्देशनालय, उत्तर कन्याका डिप्टी निर्देशक (स्वास्थ्य सेवा) डा तनिमा मण्डल र संयुक्त निर्देशक (उत्तर बङ्गाल जोन) डा पुरण शर्मा, जीटीएको स्वास्थ्य एंव परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पा, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, जीटीएको मुख्य कार्यपाल अनित थापाका प्रतिनिधि दिवस छेत्री पनि सहभागी थिए। उक्त टोलीले घैयाबारी अस्पतालमा रहेका विभिन्न समस्याहरु र डाक्टरको स्थायी आगमन विषयमा चर्चा परिचर्चा गरेका थिए। उक्त भ्रमणावधि तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले लामो समयदेखि डाक्टरविहीन रहेको घैयाबारी स्वास्थ्य केन्द्रमा बागौडा स्वास्थ्य केन्द्रबाट डाक्टर स्थानान्तरण भएको जानकारी दिँदै नयाँ डाक्टरलाई स्वागत गरे। यसको साथै यस क्षेत्रमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले बताएका छन्।
सभासद नवराज छेत्रीले घैयाबारी क्षेत्रको स्वास्थ्य सेवाको अवस्थाबारे बोल्दै अस्पतालमा फेयर प्राइज दोकान, प्राविधिक कर्मचारी, ल्याब, कर्मबन्धु, र फारमेसिस्टजस्ता आवश्यक पदहरूको पूर्ति गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले घैयाबारी अस्पतालले ठूलो क्षेत्रका बासिन्दालाई सेवा प्रदान गर्ने भए पनि हालको कर्मचारी संख्याले पूर्ण सेवा दिन नसकिएको बताए। यसैले घैयाबारी अस्पतालमा कम्तीमा तीनजना डाक्टरहरुको व्यवस्था गर्नुपर्ने स्थानीयहरुको माग रहेको बताएका छन्। यस क्रममा जीटीएका स्वास्थ्य एंव परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाले बागौडा र घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रसित सम्बन्धित स्थानीय जनसाधारणलाई अपिल गर्दै दुवैतिरको समस्या समाधान गरिने र यसको लागि धैर्य धारण गरिदिने निवेदन गरेका छन्। एमओडी सभासद श्याम शेर्पाले जबसम्म नयाँ डाक्टर आउँदैन तबसम्म अहिलेको डाक्टरले दुवैतिर हप्तामा तीन तीन दिन गरेर बस्ने जानकारी गराएका छन्। उनले सबैलाई धैर्य धारण गरिदिने आह्वान् पनि गरेका छन्।
गत १७ जूनमा नयाँ डाक्टर नियुक्तिको नोटिफिकेसन जारी भएको थियो र सोहीअनुसार नयाँ डाक्टरले अस्पतालमा आफ्नो कार्यभार सम्हालिसकेका छन्। यसअघि, निवर्तमान डाक्टर उच्च शिक्षाका लागि बिदामा गएपछि अस्पताल डाक्टरविहीन भएको थियो। हाल पहाडका अस्पतालहरूबाट १९ जना डाक्टरहरू उच्च शिक्षाका लागि बिदामा रहेको जानकारी प्राप्त भएको छ। तीनधारे महानदी समष्टिको घैयाबारी अस्पतालमा डाक्टर अभावको गुनासोलाई सम्बोधन गर्न जीटीएको स्वास्थ्य एवं परिवार कल्याण विभागका एमओडी सभासद श्याम शेर्पा र तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीले गत १३ जूनमा दार्जिलिङको लालकोठीमा स्वास्थ्य विभागका कार्यकारी निर्देशक साम्देन डुक्पासँग भेट गरेका थिए। उक्त भेटमा निर्देशकले निकट भविष्यमा समस्या समाधान गरिने आश्वासन दिएका थिए। सभासद नवराज छेत्रीले आपतकालीन अवस्थामा खरसाङ महकुमा अस्पतालबाट एकजना डाक्टर उपलब्ध गराउनु पर्ने माग राखेका थिए। यस विषयमा खरसाङ महकुमा अस्पतालको रोगी कल्याण समितिका सभापति दिवस छेत्री र अस्पतालका सुपरिन्टेन्डेन्टसँग पनि छलफल भएको थियो। सोमबार भएको यस भ्रमणपछि यस पहलले घैयाबारी क्षेत्रका बासिन्दाहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ।