नयाँ दिल्ली: भारतका युवा ब्याडमिण्टन खेलाड़ी आयुष शेट्टीले यूएस ओपन सुपर ३००-को पुरुष एकल फाइनलमा कनाडाका ब्रायन यांगविरुद्ध सीधा गेममा जीतको साथ आफ्नो पहिलो बीडब्ल्यूएफ वर्ल्ड टूर खिताब जिते। यसको साथै जारी सत्रमा भारतको खिताबको खड़ेरी पनि समाप्त भयो। २०२३ जुनियर वर्ल्ड च्याम्पियनशीपका काँस्य पदक विजेता २० वर्षीय आयुषले आइतवार तेस्रो वरीयता प्राप्त यांगलाई ४७ मिनटमा २१-१८, २१-१३-ले पराजित गरे। यसरी महिला एकलमा चाहिँ १६ वर्षीय तन्वी शर्मा शीर्ष वरीयता प्राप्त अमेरिकाकी बेवेन झांगविरुद्ध ३ गेमसम्म चलेको म्याचमा पराजित भएर उपविजेता रहिन्। आफ्नो पहिलो वर्ल्ड टूर फाइनल खेलिरहेकी गैरवरीयता प्राप्त तन्वीले ४६ मिनटमा ११-२१, २१-१६, १०-२१-ले हारको सामना गर्नु पऱ्यो।
आयुषको यांगविरुद्ध यो तेस्रो जीत हो। उनले यस सालको शुरुवातमा मलेशिया ओपन र ताइपे ओपनमा यांगलाई पराजित गरेका थिए। आयुषले पूरा हप्ता प्रभावशाली प्रदर्शन गरे। उनले सेमिफाइनलमा शीर्ष वरीयता प्राप्त चाउ टिएन चेनविरुद्ध पछाड़िएपछि जीत हासिल गरेका थिए।
पुरुष एकलको फाइनलको शुरुवातमा स्कोर ६-६-को बराबरीमा थियो तर चौथो वरीयता प्राप्त आयुषले लगातार विनर्सको साथ चाँड़ै ११-६-को बढ़त हासिल गरे। यांगले पनि पछिबाट लड़ाकू प्रदर्शन गर्दै १६-१६-को बराबरी हासिल गरे तर आयुषले सटीक शट्को साथ नियन्त्रण हासिल गरे अनि निर्णायक जम्प स्म्याशको साथ शुरुवाती गेम आफ्नो नाम गरे। दोस्रो गेममा भारतीय शट्लरले चाँड़ै ७-२-को बढ़त हासिल गरे तर यांगले पनि केही समयपछछि स्कोर बराबरीमा पुऱ्याए। भारतीय खेलाड़ीले पनि संयमको साथ आक्रमकता र रक्षात्मकतालाई सही तरिकाले उपयोग गर्दै प्रतिद्वन्द्वीलाई म्याचबाट टाढ़ा राखे। १७-१२-को स्कोरमा आयुषले क्रस कोर्ट पञ्चको साथ म्याचलाई लगभग समाप्त गरे। त्यसपछि अझ एउटा शक्तिशाली स्म्याशको साथ उनले आफ्नो पहिलो वर्ल्ड टूर खिताब जिते। आयुष यसअघि २०२३-मा बहरीन इण्टरनेशनल र २०२४-मा डच ओपनको फाइनलमा पुग्नको साथै २०२३-मा ओडिशा मास्टर्स सुपर १०० टुर्नामेण्टको पनि फाइनलमा पुगेका थिए।
महिला एकलको फाइनलमा तन्वीले शुरुदेखि नै संघर्ष गर्नु पऱ्यो कारण झांगले पहिलो गेममा ११-५-को बढ़त हासिल गरिन्, जसलाई तन्वीले पार गर्न सकिनन्। दोस्रो गेममा तन्वीले आक्रामक प्रदर्शन गर्दै ४-०-को बढ़त हासिल गरिन्। झांगले लामो ऱ्यालीको साथ उनलाई रोक्न चाहे पनि तन्वीले स्थितिमाथि पूरा ध्यान दिइन्। दोस्रो गेमको ब्रेकसम्म तन्वी ११-९-ले अघि रहेकी थिइन्। झांगले पछिबाट गल्तीहरू गर्दा त्यसको पूरा फाइदा उठाउँदै तन्वीले दोस्रो गेम जित्दा म्याच तेस्रो तथा निर्णायक गेमसम्म पुग्यो। तेस्रो गेममा झांगले असाधारण पुनरागमन गरिन् अनि मिड ब्रेकसम्म ११-४-ले अघि रहेकी थिइन्। उनले त्यसपछि लगातार असल प्रदर्शन गर्दै तन्वीको चुनौतीलाई पार गरी खिताब जितिन्।