गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले असार १५ को अवसरमा समस्त सिक्किमेली जनतालाई शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा जारी आफ्नो सन्देशमा परम्परागत कृषि संस्कृतिमा असार १५ ले एक विशिष्ट सांस्कृतिक, सामाजिक र आर्थिक महत्व बोकेको जिकिर गरेका छन्। मुख्यमन्त्रीले धान खेतीको मुख्य मौसम प्रारम्भ हुने यस दिनलाई परम्परागत रूपमा उल्लासपूर्वक, गीत-सङ्गीत, आपसी सहयोग र माटोसँगको आत्मीय सम्बन्धमार्फत मनाउँदै आएको उल्लेख गरेका छन्। उनले रोपाइँको परम्परा केवल कृषि कर्म मात्र नभई सामुहिकता, परिश्रम र संस्कृतिप्रतिको श्रद्धा प्रकट गर्ने अवसर रहेको बताएका छन्। मुख्यमन्त्रीले सिक्किमको नेपाली समुदायसहित अन्य समुदायहरूले पनि यस चाडमार्फत आपसी सद्भाव, सहकार्य र सहिष्णुता प्रवर्द्धन गर्दै आएकाले असार १५ राज्यको साझा सांस्कृतिक सम्पदाको प्रतीक बन्न पुगेको उल्लेख गरेका छन्। उनले यस दिन दही-चिउरा खाने चलन हाम्रो जीवनशैलीसँग गाँसिएको परम्परा हो, जसले हाम्रा पुर्खाहरूको श्रमशीलता, समयको सदुपयोग र कृषि कर्मप्रतिको प्रतिबद्धतालाई झल्काउने मुख्यमन्त्रीले थप बताएका छन्। मुख्यमन्त्रीले आजको दिन सबैका लागि कृषि सभ्यता, कृषकहरूको अथक परिश्रम र धानजस्ता मुख्य खाद्य बालीप्रति सम्मान व्यक्त गर्ने सन्देश बोकेको अवसर पनि रहेको बताएका छन्। उनले कृषि प्रणालीलाई वैज्ञानिक, पर्यावरणमैत्री र आत्मनिर्भर बनाउँदै उत्पादनशीलता बढाउने दिशामा सबैले साझा प्रतिबद्धता जनाउन आवश्यक रहेको आफ्नो सन्देशमा उल्लेख गरेका छन्। मुख्यमन्त्रीले समस्त कृषक समुदायप्रति सम्मान प्रकट गर्दै, उत्कृष्ट धान उत्पादनसहित विविध कृषि उपजमा अभूतपूर्व सफलताको शुभकामना व्यक्त गरेका छन्।