गान्तोक: नेपालीहरुको पारम्परिक उत्सव असार पन्ध्रको अवसरमा राज्यपाल ओमप्रकाश माथुरले राज्यबासीलाई शुभकामना दिएका छन्। राज्यपालले शुभकामना सन्देशमा भनेका छन्, आज किसान दाजुभाइहरूको अथक परिश्रम, समर्पण र पृथ्वीसँगको गहिरो सम्बन्धलाई सम्मान गर्ने अवसर हो। यो अवसरले सांस्कृतिक एकताका साथै खेतमा रोपेर खाद्य उत्पादनलाई प्रतिबिम्बित गर्दछ। उनले थप भनेअनुसार आधुनिकतातर्फ अघि बढ्दै गर्दा सिक्किमले आफ्नो परम्परालाई संरक्षण गर्दै पर्यावरणसँग सद्भाव कायम राखेको छ। असार १५ को दिन, किसानहरू धान रोप्न व्यस्त हुन्छन्, अथक परिश्रम गर्छन् र हर्षोल्लासका साथ नाच र गीत गाउँदै खेतमा व्यस्त हुन्छन्, उनले भने। यस दिन, दही-चिउरा खाने परम्परा पनि पालना गरिन्छ, जुन किसानहरूले खुशीसाथ पालन गर्दछन्। यस अवसरमा उनले सम्पूर्ण किसान समुदायलाई शुभकामना दिँदै सिक्किमको हरियाली, जैविक समृद्धि र सांस्कृतिक गरिमा यस्तै रहिरहोस् भनी कामना व्यक्त गरेका छन्।