गान्तोक: मल्ली पुलिसले नशालु पदार्थसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले जानकारी गराएअनुसार सिलगढीदेखि जोरथाङ आइरहेको पिकअप वाहन नम्बर डब्ल्यूबी७३एफ-०४६० लाई राष्ट्रीय राजमार्गमा जाँच गर्ने क्रममा नशालु पदार्थ फेला पारेपछि पक्राउ गरिएको हो। पक्रा पर्नेहरूमा जोरथाङ माझीगाउँ निवासी मनेश्वर दास र सद्दाम हुसेनकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले आरोपीद्वयविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट-२००६ मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ। यसरी नै गान्तोकको तादोङस्थित नरबहादुर भण्डारी डिग्री कलेजको गेट परिसरबाट हिजो एक व्यक्तिलाई नशालु पदार्थसहित पक्राउ गरेको छ। पक्राउ पर्ने आरोपी हजरत अलीकोरूपमा पुलिलसे चिन्हित गरेको छ। विश्वसनीय सूत्रले पुलिसलाई हजरत अली नामक व्यक्तिले नशालु पदार्थ बिक्री गर्न लागिरहेको सूचना दिएको थियो। सोही सूचनाको आधारमा पुलिसले आरोपीलाई पक्राउ गर्न सफल बनेको बताइएको छ। आरोपीविरूद्ध पुलिसले सिक्किम एन्टी ड्रग्स एक्ट-२००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ। उल्लेखनीय छ, गत केही दिन अघि राजधानीस्थित चिन्तन भवनमा आयोजित नशालु पदार्थको दुरूपयोग र अबैध धन्दाविरूद्ध अन्तर्राष्ट्रीय दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यमा बढदो नशालु पदार्थको धन्दा र सेवनबारेमा चिन्ता व्यक्त गर्दै पुलिसलाई यसबारेमा कडा निगरानी राख्नु पर्ने निर्देश दिएका थिए। मुख्यमन्त्रीको निर्देशपछि हाल पुलिस नशालु पदार्थको धन्दालाई नियन्त्रण गर्न सक्रियरूपमा लागिपरेको मल्ली र गान्तोकबाट नशालु पदार्थ सहित आरोपीलाई पक्राउ गरिएको घटनाले प्रमाणित गरेको छ।