दार्जिलिङ: दार्जिलिङ रोटरी क्लबको ६९औं स्थापना दिवस समारोह सम्पन्न भयो। यस कार्यक्रममा विवेक छेत्रीले समीर सिंघलबाट अध्यक्षको जिम्मेवारी ग्रहण गरे। समिर सिंघलको कार्यकालमा क्लबले ५० भन्दा बढी सामुदायिकमुखी परियोजनाहरू सञ्चालन गरेको थियो। ती परियोजनाहरूमा ग्रामीण विद्यालयहरूको पूर्वाधार सुधार, शहरको सौन्दर्यकरण, वरिष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर वर्गप्रति चासो र समाजमा देखा पर्ने स्वास्थ्यसम्बन्धी समस्याहरुको समाधान समावेश रहेका थिए।
जिम्मेवारी हस्तान्तरणको केही घण्टा अघि समिरले सिडर भ्यालीस्थित बन्द चिया बगानको समाजलाई आठवटा स्ट्रेचर वितरण गरेका थिए यसको साथै समिर र उनको परिवारले टर्नबुल हाई स्कूल, दार्जिलिङमा हात धुने बेसिन स्थापना गरेका थिए। नयाँ अध्यक्ष विवेक छेत्रीले निरन्तरतामा जोड दिँदै क्लबले युवाहरूको सशक्तिकरणलाई प्राथमिकता दिने बताएका छन्। उनले सार्वजनिक भाषणकला र वित्तीय व्यवस्थापनजस्ता जीवन सीपहरूमा जोड दिनुपर्ने आवश्यकतामाथि जोड दिएका छन्। दार्जिलिङ रोटरी क्लबले आगामी १ देखि ३ अगस्टसम्म हिमालयन माउन्टेनियरिङ इन्स्टिच्युट (HMI) मा अन्तर्राष्ट्रिय रोटरी यूथ लिडरशीप अवार्ड (RYLA) कार्यक्रम आयोजना गर्ने भएको छ।