भद्रपुर: २९ जूनदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ। राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा आइतबार टिजर सार्वजनिक गरियो।
‘जुम्लेलीलाई जीवनजल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ हरफबाट टिजर सुरु हुन्छ। टिजरमा शीर्ष कलाकार सौगात मल्ल, बेनिशा हमालको बालापनदेखि सम्बन्ध विवाहमा बदलिएपछि आउने उतारचढावको कथा यसमा छ।
फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्। फिल्ममा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ।
तुलसीदेवी फिल्म प्रालिले जुनतारा फिल्म्ससँगको सहकार्यमा फिल्म निर्माण गरेको हो। पटकथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोलकुमार कार्की र विकास राज जोशी निर्माताको रुपमा छन्।
अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन्।