पाकिम: पाकिम जिल्लाको खण्ड विकास समितिको वार्षिक सभा आज रूरवन सामुदायिक केन्द्रमा सम्पन्न भयो। सिक्किम सरकारको ग्रामीण विकास विभागको एक प्रमुख पहलअन्तर्गत सिक्किम ग्रामीण जीविकोपार्जन मिशनको तत्वावधानमा आयोजित सभालाई सम्बोधन गर्दै पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल (विकास) रविन सेवाले महिला सशक्तिकरण र ग्रामीण जीविकोपार्जनको अभिवृद्धिमा एसआरएलएमको महत्वपूर्ण भूमिका रहने गरेको बताए। उनले स्वयं सहायता समूहका सदस्यहरूलाई यस अभियानमा सक्रियरूपमा भाग लिनुपर्ने र उनीहरूको आर्थिक स्थितिलाई मजबुत बनाउनको निम्ति समर्पित भावनाले काम गर्नुपर्ने आग्रह गरे। अतिरिक्त जिल्लापाल सेवाले राज्यको जैविक खेती सम्भावनालाई ध्यानमा राख्दै, दिगो र भरपर्दो आयस्रोतकोरूपमा कृषिको महत्त्वमाथि जोड दिए। उनले थप जानकारी गराएअनुसार फ्राइडे फिल्ड डे र कनेक्ट अर्थ जस्ता पहलहरूमा सक्रियरूपमा संलग्न हुन प्रोत्साहित गरे। यसले मानव-प्रकृतिबीचको सम्बन्धलाई बढावा दिन र पर्यावरणलाई संरक्षण गर्नको निम्ति मदत पुऱ्याउने बताए।