दार्जिलिङ: बिजनबारीको लोवर लामा गाउँ निवासी भारतीय सेनामा कार्यरत अग्निवीर प्रयास गुरुङको सैन्य वाहन दुर्घटनामा निधन भएको छ। भारतीय सेनामा कार्यरत दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ रेलिङ ग्राम पञ्चायतको लोवर लामा गाउँ मूल निवासी तथा हाल बिजनबारी बजारमा बस्दै आएका अनिल गुरुङका २० वर्षीय कान्छो छोरा प्रयास गुरुङको हिजो साँझ एक सैन्य वाहन दुर्घटनामा परी दुर्भाग्यपूर्ण निधन भएको छ। देश सेवामा समर्पित रहँदै कार्य गरिरहेका गुरुङको हिजो बाघडोगरा नजिकै जगलीबाबा रोडमा एक छाउनीबाट अर्को छाउनीमा जाने क्रममा डिउटीको समयमा वाहन दुर्घटनामा परेर दु:खद निधन भएको परिवार पक्षले जनाएको छ। उनको पार्थिव शरीर शुक्रबार बेलुकीसम्म सिलिगुडीस्थित बेङडुवी सैनिक छावनी हुँदै उनको निवास आइपुग्ने परिवार सुत्रले जनाएको छ। यसका साथै उनको अन्तिम सस्कार शनिवार सैनिक सम्मानको साथमा गरिने समेत परिवार पक्षले जनाएको छ।