खरसाङ: चियाबारी श्रमिकहरूको बोनसलाई लिएर हिज दार्जिलिङमा बसेको सभामा बोनसको फैसला नभएपछि आजदेखि सबै कमानहरुमा संयुक्त टेड्र युनियनहरुले गेट सभा शुरु गरेका छन्। यसरी नै खरसाङको रोहिणीमा पनि बोनसलाई लिएर गेट सभा सम्पन्न गरेको छ। रोहिणी चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन र माकपाको ट्रेड युनियन दार्जिलिङ जिल्ला चिया कमान मजदुर युनियनले संयुक्त रूपमा गेट मिटिङ आयोजना गरेको छ। यस अवसरमा दार्जिलिङ जिल्ला चिया बगान मजदुर युनियनको पक्षबाट रोहिणी युनिट कमिटीका सभापति अनिमा खवास र सचिन खाती अनि हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको पक्षबाट थेबा बलले वक्तव्य राखेका थिए। वक्ताहरूले चियाबारी श्रमिकहरूको बोनस नमिले आगामी दिनमा वृहत लडाइ हुने र यसको निम्ति तयारी हुनुपर्ने सबैलाई आह्वान गरेका छन्।

यस अवसरमा बोल्दै माकपा श्रमिक संगठन दार्जिलिङ जिल्ला चियाबारी मजदुर युनियनको नेता सचिन खातीले मधेश क्षेत्रमा चियाबारी श्रमिकहरूको बोनस २० प्रतिशत भईसकेको तर यता पहाड़को बोनसको कुरा भने अझैं नमिलेको बताउँदै हिज दार्जिलिङमा बसिएको बैठक असफल भएको जानकारी गराउँदै चियाबारी श्रमिकहरूले बीस प्रतिशत नै बोनस पाउनुपर्छ भनी मांग गरेका छन्। उनले भने, श्रमिकहरू जुनै पार्टीमा भएपनि बोनस भने सबैको एकै हो र बोनस सबैको हो। यसपालीको बोनस गत वर्ष २०२१ को काम अनुसार पाउनुपर्छ अनि गत वर्ष चियाबारीहरू राम्रोसितले चलेको थियो। खातीले अझ भने, हिजक बोनसको बैठकमा मालिकहरूको रबैया राम्रो थिएन। दशैं आउन अब कति पनि छैन तर श्रमिकहरूले भने अझैं पनि बोनस पाएका छैनन्। अब चिया श्रमिकहरूले बीस प्रतिशतभन्दा कम बोनस मान्दैनन्।