खरसाङ: खरसाङको नयाँ बजारस्थित जगदीश मन्दिरबाट भगवान् जगनाथको रथयात्रा निकालिएको छ। जगनाथ रथयात्रा एंव नगर परिक्रमा अखण्ड हरि संकीर्तन समिति खरसाङको आयोजनामा उक्त जगनाथ रथयात्रा निकालिएको छ। सय वर्षभन्दा पुरानो खरसाङको नयाँ बजारस्थित जगदीश मन्दिर परिसरबाट निकालिएको उक्त जगनाथ रथयात्रा मोटर स्ट्याण्ड हुँदै हिल कार्ट रोड भएर टुरिस्ट लज नजिकसम्म पुगेर फर्केको छ भने वर्ध्दमान रोड हुँदै पुनः मोटर स्ट्याण्ड हुँदै जगदीश मन्दिरसम्म पुगेर समापन गरिएको जानकारी प्राप्त भएको छ।

यस अवसरमा नेपालको महिला टोलीद्वारा नौमति बाजासहित कीर्तन र आमवाडी हरिकीर्तन टोलीद्वारा हरिनाम संकीर्तन प्रस्तुत गरिएको छ। भगवान् जगनाथ रथयात्रा असार शुक्ल द्वितीयमा आयोजना गरिन्छ। यस अवसरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा, सभासद श्याम शेर्पा र प्रणाम रसाइली लगायत श्री जगदीश मन्दिरको पुरोहित आनन्द पारिख साथै खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए। खरसाङमा रहेको एक मात्र जगदीश मन्दिरको आयोजनामा विगत सय वर्षभन्दा अघिदेखि आयोजना गर्दै आईरहेका छन्। यसपाली पनि भगवान् जगनाथको रथयात्रा खरसाङमा भव्य रुपमा आयोजना गरिएको छ।

खरसाङमा आयोजित भगवान् जगनाथको रथयात्रा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आचार्य केशव शर्मा र जगदीश मन्दिरको सभापति राजेन्द्र प्रसाद अग्रवालले विस्तृत रुपमा जानकारी गराएका छन्।