कुनै पनि सरकारी कर्मचारीले नशालु पदार्थको सेवन र धन्दा गरेमा सोझै निष्काशित गरिनेः मुख्यमन्त्री प्रेम सिंह तामाङ
गान्तोक: सामाजिक न्याया एवम कल्याण विभागको पहलमा आज राजधानीस्थित मनन केन्द्रमा नशालु पदार्थको दुरूपयोग र अबैध धन्दाविरूद्ध अन्तराष्ट्रीय दिवस पालन गरियो। यस अवसरमा मुख्यमन्त्री प्रेम सिंह तांमाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने उनको साथमा विभागका मन्त्री साम्दुप लेप्चा, सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा लगायत मन्त्रीगण, विधायकगण पनि सामेल रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले आजदेखि कुनै पनि विभागका सरकारी कर्मचारी होस या पुलिसका अधिकारी नशालु पदार्थको सेवन गरेको अर्थात धन्दा गरेको फेला परेमा सोझै निष्काशित गरिने चेताउनी दिए। यसको निम्ति सबै विभागका प्रमुखहरूले पिउनदेखि ठूल-ठूला अधिकारीमाथि नजर राख्नु पर्ने आग्रह गरे। यदि नशालु पदार्थको सेवन गरेको अथवा धन्दा गरेको प्रमाणित भएमा मुख्य सचिवसमक्ष रिपोर्ट बुझाउनु पर्ने विभाग प्रमुखहरूलाई निर्देश दिएका छन्। हालसम्म केही सरकारी कर्मचारीहरूविरूद्ध सिक्किम एन्टी ड्र्गस् एक्ट अन्तर्गत मुद्दा दर्ता गरेको र हाल विचारधीन रहेको बताए। उनले थप जानकारी गराए अनुसार यसमा पुलिस कर्मचारीहरू पनि सामेल रहेका छन्। आजदेखि नै विभाग प्रमुख, जिल्लापाल, विधायकगणले आ- आफ्नो क्षेत्रलाई नशामुक्त बनाउनको निम्ति पहल गर्नुपर्ने सुझाउ दिए। राज्यमा प्रथमपल्ट नशालु पदार्थको धन्दा गर्ने दुई जनालाई दस-दस वर्षको सजाय भएको बताए। विशेष गरेर हाल उत्तरे चेकपोस्टमा कार्यरत पुलिस प्रभारी शेखर बस्नेतको लगनशील र मेहनतको कारण दुईजनाले सजाय पाएकोमा मुख्यमन्त्रीको उनको योग्यताको प्रशंसाको सम्मान गरे। यसरी नै सबै एसएचओहरूले मेहनत गरेको खण्डमा अवश्य पनि दोषीहरूले सजाय पाउन सक्ने बताए। यसर्थ अबोप्रान्त मल्ली, रम्फू, रेशीथाङका पुलिस प्रभारीले दोषीलाई सजाय दिलाउन नसकेको खण्डमा स्थान्तरण गरिने पनि अवगत गराए। नशालु पदार्थको सेवन गर्ने र धन्दा गर्नेहरूविरूद्ध सरकारले कानून बनाएको छ भने यसलाई कार्यान्वयन गर्न सिक्किम पुलिसले खुबै मेहनत गरिरहेको छ, तर पनि राज्यमा नशालु पदार्थ विरूद्ध धेरै मुद्दाहरू आउने गरेको छ। नशालु पदार्थ नियन्त्रण गर्ने जिम्मा केवल पुलिस र सरकारको हो भन्ने सोंच लिएर बसेका मानिसहरूलाई आफ्नो तर्फबाट पुलिसलाई सहयोग गर्नुपर्ने आग्रह गरे। यदि आम मानिसको सहयोग र समर्थन पाएको खण्डमा पुलिस नशालु पदार्थको बिक्रीलाई नियन्त्रण गर्न सक्षम रहेको बताए। विशेष गरेर पुलिसले नशालु पदार्थको धन्दामा लिप्त आरोपीहरूलाई पक्राउ गरेता पनि गवाहीले न्यायालयमा सठीक प्रकारले वयान दिन नसकेको कारण निर्दोष प्रमाणित हुने गरेको मुख्यमन्त्रीले बताए। यसर्थ गवाहीहरूले निडर बनेर न्यायालयमा वयान दिनुपर्ने र उनीहरूको सुरक्षाको जिम्मेवारी राज्य सरकार र पुलिस प्रशासनले लिने आश्वासन दिए। सिक्किम पुलिसले नशामुक्त सिक्किम बनाउने दिशामा अहंम भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै अबोप्रान्त पुलिसले नशालु पदार्थ सहित कुनै व्यक्तिलाई पक्राउ गरेको खण्डमा पुलिसलाई मनोबल प्रदान गर्नको साथै मुद्दा दर्ता गर्न सहज वातारवरण बनाउनको निम्ति स्थानीय खण्ड विकास अधिकारीहरू दस काम छोडेर भए पनि घटनास्थलमा पुग्नुपर्ने निर्देश दिए। सिक्किम राज्यमा यति धेरै नशालु पदार्थको धन्दा हुनु भनेको सिक्किमे जनताको निम्ति दुर्भाग्य हो, किने भने सरकारले युवाहरूलाई विभिन्न क्षेत्रमा अवसर प्रदान गर्दै आइरहेको उनले दावी गरे। यदि शिक्षित वेरोजगार युवाहरूमा कुनै पनि प्रकारको समस्या छ भने नशालु पदार्थको सेवन नगरेर समस्या समाधानको निम्ति क्षेत्र विधायकसमक्ष पुग्नु पर्ने आग्रह गरे। नशालु पदार्थको सेवन गरेर कहिले पनि समस्या समाधान हुँदैन्, यसर्थ समस्या समाधानको निम्ति सम्वन्धित निकाय समक्ष पुग्न आवश्यक रहेको उनले मन्तव्य प्रकट गरे। मुख्यमन्त्री तामाङले आजदेखि नै सबै विभागका प्रमुखहरू, जिल्लापाल, विधायक, पञ्चायतहरूले आ-आफ्नो क्षेत्रलाई नशामुक्त बनाउनको निम्ति पहल शुरू गर्नुपर्ने निर्देश दिएका छन्। सबैले आफ्नो जिम्मेवारी र कर्तव्य इमान्दारपूर्वक पालन गरेमा सिक्किम राज्यलाई नशामुक्त बनाउन असम्भव नरहेको बताए। अबोप्रान्त नशालु पदार्थको धन्दा गर्ने व्यक्तिहरूलाई कुनै पनि घर मालिकले किरायामा कोठा नदिने आग्रह गर्दै यदि कुनै पनि घर मालिसकले त्यस्ता वक्तिहरूलाई कोठा किरायामा दिएको खण्डमा कानुनी कार्वाही गरिने कानून बनाउने घोषणा गरे। अब कुनै पनि समयमा कुनै पनि विभागमा स्वास्थ्य विभागका कर्मचारीहरूलाई लिएर छडके भ्रमण गरिने र शंकास्पद व्यक्तिको जाँच गरिने छ, यदि जाँचको क्रममा नशालु पदार्थ सेवन गरेको फेला परेमा शिघ्र कार्वाहीको निम्ति प्रक्रिया शुरू गरिने पनि उनले थप घोषणा गरे। उनले थप जानकारी गराए अनुसार आज भन्दा केही वर्ष अघि जोरथाङको माझीगाउँलाई नशालु पदार्थको धन्दा साथै सेवन गर्ने गाउँकोरूपमा हेर्ने गरिन्थ्यो, तर पुलिस विभागको सक्रियता र स्थानीयहरूको सहयोगमा अहिले माझीगाउँमा यस प्रकारको नकारात्मक गतिविधि नभएको बताए। विशेष गरेर जबसम्म स्थानीयहरूले आवाज उठाउँदैनन्, तबसम्म पुलिस प्रशासन र सरकारले केही गर्न नसकिने मन्तव्य प्रकट गरे। अहिले स्थानीय महिलाहरूको सामुहिक प्रयासमा एक गैर सरकारी संस्था ड्रग्स सर सफाई अभियान गठन गरेको र उक्त संस्थाको पहलमा माझीगाउँलाई ड्रग्समुक्त बनाउने दिशामा काम गरिरहेको बताए। यसरी राज्यमा नशालु पदार्थविरूद्ध धेरै गैर सरकारी संगठनहरूले सक्रियारूपमा काम गरेको हुनाले पुलिस प्रशासनमा थप मनोबल बढेको जानकारी गराए।
यसै क्रममा पुलिस महानिर्देशक अक्षय सचदेवाले सबै विभागहरूमा एक दुई प्रतिशत सरकारी कर्मचारीहरूले नशालु पदार्थको सेवन गर्दै आइरहेको बताउँदै यसमा सिक्किम पुलिसका कर्मचारीहरू पनि अछुत नरहेको र कतिपयलाई कामबाट निष्काशित गरेको पनि बताए। उनले थप जानकारी गराए अनुसार सिक्किम पुलिसले नशालु पदार्थको वितरणमा कमी ल्याउने कार्य गरिरहेको र प्रत्येक वर्ष सिक्किम एन्टी ड्रग्स एक्ट (साडा) र एनडीपीएसको एक सय भन्दा अधिक मामिला दर्ता भएको छ। मुख्यमन्त्री तामाङको दुरदर्शी सोच अनुरूप केही महिनादेखि राज्यभरि सञ्चालन गरिने पप र डिस्कोहरू ११ बजीसम्म मात्र चल्न पाउने नोटिफिकेसन जारी गरेपछि रातमा हुने अपराधका घटनाहरूमा केही कमी आउनको साथै जनताबाट पनि सकारात्मक सुझाउ आएको बताए। उनको भनाइ अनुसार नशालु पदार्थको समस्या केवल सिक्किम, भारतको मात्र नभएर विश्वको विकसित देशहरूमा पनि यथावत रहेको छ। यस अवसरमा मन्त्री साम्दुप लेप्चाले पनि सम्बोधन गरेका थिए। आजको यस कार्यक्रममा मुख्यमन्त्री तामाङले मैला बोक्ने १३ वटा वाहनलाई झण्डा हल्लाएर प्रस्थान गराए भने नशालु पदार्थविरूद्ध प्रतिवद्ध भएर काम गर्दै आएको गैर सरकारी संस्थाहरू जस्तै ड्रग्स सफाई अभियान (माझीगाउँ), एन्टी ड्रग्स स्कवायड (मल्ली), आमाको आँशु पोछ्ने लाठी (स्यारी), र चुवाटारको सेन्ट्र्ल फर एडिक्सन मेडिसनलाई सम्मान जनाइयो। यसरी नाम्ची जिल्लाका पुलिसले नशालु पदार्थविरूद्ध गरेको कामलाई सरहना गर्दै सम्मान जनाइयो। सोही प्रकारले पीआई शेखर बस्नेतलाई पनि सम्मान जनाउने कार्य सम्पन्न भयो।