गान्तोक: १७औं ग्याल्वाङ कर्मापा उगेन थिन्ले दोर्जेको ४०औं जन्मदिवसको अवसरमा आज रूम्तेक धर्मचक्र केन्द्रमा एक भव्य समारोह आयोजन गरियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशेषरूपमा उपस्थित थिए। यसैगरी धर्म विभागीय मन्त्री सोनाम लामा, क्षेत्र विधायक सोनाम छिरिङ भेन्चोङपा लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा मुख्यमन्त्री लगायत अन्य अतिथिहरुले केक काटेर १७औं ग्याल्वाङ कर्मापाको दीर्घायुको निम्ति प्रार्थना गरे। विश्व शान्ति र बौद्ध धर्ममा उनले पुऱ्याएका योगदानप्रति श्रद्धा प्रकट गर्दै जन्मजयन्ती पालन गरिएको हो। कार्यक्रममा धर्मगुरूहरूद्वारा रिम्पोछेको दीर्घायुको कामना गर्दै पूजा अर्चना गरियो। यस अवसरमा १७औं ग्याल्वाङ कर्मापाले भर्चुअलरूपमा सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत सिक्किम र सिक्किमेली जनतालाई आशीर्वाद दिए। सिक्किमका जनताको तर्फबाट मुख्यमन्त्रीले उनको दीर्घायु, सुस्वास्थ्य र ज्ञानपूर्ण आशीषका लागि प्रेरित गर्ने उल्लेख गरे।