मिरिक: मिरिक शहर हाल स्वच्छताको दिशामा अग्रसर भइरहेको छ। मिरिकलाई ग्रीनसिटीको दर्जा प्रदान गर्न पश्चिम बङ्गाल सरकारले घोषणा गरेपछि स्टेट अर्बन डेभलपमेन्ट एजेन्सीद्वारा मिरिक नगरपालिका मर्फत नियुक्त गरिएको निर्मल साथी अनि निर्मल बन्धुका सदस्यहरूले मिरिक नगरपालिका क्षेत्रमा दैनिक सफाई अभियान चलाइरहेका छन्। सोही क्रममा शनिबार विश्वकर्मा पूजाको अवसरमा मिरिक नगरपालिका अध्यक्ष एलबी राईको उपस्थितिमा निर्मल साथी अनि निर्मल बन्धुका सदस्यहरूले मिरिक पर्यटन केन्द्र परिसरमा व्यापक सफाई अभियान गरेर मिरिकलाई ग्रीनसिटीको दिशमा अग्रसर गराउन विशेष भूमिका पालन गरेको छ। सफाई अभियानमा मिरिक झील परिसरमा थुप्रिएका फोहोर अनि प्लास्टिकहरूलाई संग्रह गरेर सुरक्षित स्थानमा तह लगाउने कार्य गरियो। यस अवसरमा बोल्दै निर्मल साथी अनि निर्मल बन्धु समूहका संयोजक दर्शन गुरूङले स्टेट अर्बन डेभलपमेन्ट एजेन्सीले मिरिक नगरपालिका मार्फत मिरिकलाई ग्रीनसिटीमा परिणत गर्ने घोषणा गरेपछि हाल मिरिक नगरपालिकाको सबै वार्डहरूमा फोहोर व्यस्थापनमा कार्य गरिरहेको जसको कारण मिरिक शहर स्वच्छताको दिशामा अग्रसर भइरहेको बताए। उनले मिरिक नगरपालिकाको प्रत्येक वार्डमा नै निर्मल साथी र निर्मल बन्धुहरू नियुक्त गरिएको जसले फोहोर संग्रह, व्यवस्थापन साथै सफाईबारे सचेतना कार्यक्रम गरिरहेको बताए। उनले मिरिक नगरपालिकाको सबै वार्डहरूमा स्टेट अर्बन डेभलपमेन्ट एजेन्सी मार्फत मिरिक नगरपालिकाले दुईवटा फोहोरदानी पनि प्रदान गरिसकेको बताए। यता मिरिक नगरपालिका अध्यक्ष एलबी राईले मिरिकलाई सुन्दर र व्यवस्थित बनाउने कार्य भइरहेछ बताउँदै भने, ‘हामी मिरिकलाई राज्यको एउटा सुन्दर पर्यटन केन्द्र बनाउन चाहन्छौंl’ उनले मिरिक ग्रीनसिटी बनेपछि यहाँको पर्यटन ब्यावसाय अझ विकसित बन्ने जसको लाभ स्थानीय मानिसहरूलाई नै हुने बताए। उनले मिरिकलाई सुन्दर र ब्यावस्थित बनाउन सबैको सहयोग र सहभागिताको पनि खाँचो पर्ने बताए।