खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ लाटपञ्चर समष्टिको शेल्पुस्थित पञ्चबत्ती उच्चत्तर माध्यमिक विद्यालयमा सम्पन्न विद्यालय प्रबन्धन समितिको चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) ले बिजय हासिल गरेको छ। बिहीबार सम्पन्न चुनावमा बीजीपीएमका सबै छजना उम्मेदवारहरू भारी मतान्तरले विजयी भएका छन्।

यस चुनावमा जम्मा ६२ प्रतिशत मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरेका थिए। प्राप्त नतिजा अनुसार बीजीपीएमले ५२ प्रतिशत मत प्राप्त गर्दै विद्यालय प्रबन्धन समितिको सम्पूर्ण नेतृत्व हात पारेको छ। अब बीजीपीएमले नै विद्यालय प्रबन्धन समिति गठन गर्ने भएको छ। यस जितसँगै स्थानीय शिक्षा क्षेत्रमा बीजीपीएमको प्रभाव अझ सशक्त हुने विश्वास गरिएको छ। विजयी उम्मेदवारहरू र समर्थकहरूमा उत्साह छाएको छ भने विद्यालय समुदायले नयाँ नेतृत्वबाट सकारात्मक परिवर्तनको अपेक्षा गरेको छ।