राज्यको ६ जिल्लामा संविधान हत्या दिवस

IMG-20250625-WA0093

देशको संविधान भारतीयहरुको गर्वको प्रतिक होः मुख्यमन्त्री तामाङ

गान्तोक: राज्यको छवटा जिल्लामा आज संविधान हत्या दिवस पालन गरियो। यसक्रममा गान्तोकमा पनि भव्य कार्यक्रम आयोजन गरियो। यसअन्तर्गत एमजी मार्गदेखि शुरु भएको ऱ्याली मनन केन्द्रमा पुगेर समापन भएको थियो। उल्लेखनीय छ, १९७५ को आपतकालीन स्थितिमा शहीद भएकाहरूको सम्झनामा कार्यक्रम आयोजन गरिन्छ। विशेष गरेर देशमा आपतकालीन घोषणा भएको ५०औं वर्षगाँठको शुभअवरमा राज्य सरकारद्वारा यो कार्यक्रम आयोजन गरिएको हो। भारत सरकारले प्रत्येक वर्षको २५ जूनलाई संविधान हत्या दिवसकोरूपमा पालन गर्ने घोषणा गरेको थियो। सोही प्रकारले केन्द्र सरकारले आपतकालीन विरुद्ध लड्नेहरूको सम्मानमा एक राजपत्र अधिसूचना जारी गरिएको थियो। आज आयोजित ऱ्यालीमा सिक्किम विधानसभाका अध्यक्ष, मन्त्रीगण, विधायकगण, सरकारी अधिकारी, विद्यार्थीलगायत प्रतिष्ठित व्यक्तिहरूले सहभागिता जनाएका थिए। मनन केन्द्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले आजको दिन भविष्यका पिढीका निम्ति एक स्मरण रहने जनाउँदै लोकतन्त्रमा सक्रिय सहभागिता र संवैधानिक मूल्यप्रति सम्मानको आवश्यकतामाथि जोड दिए। देशको संविधान भारतको पहिचानको गर्वको प्रतिक हो, जसले हरेक नागरिकलाई न्याय, स्वतन्त्रता र समानता सुनिश्चित गराउने बताए। यो एक कानुनी दस्तावेज हुनको साथै लोकतन्त्रको आधार हो, जसले जनतालाई सक्षम र उत्तरदायी बनाउँछ, मुख्यमन्त्रीले भने। आपतकालीनको विरोध जनाउने बहादुर नेताहरू र नागरिकहरूको सम्मान गर्दै मुख्यमन्त्रीले जवानहरुको साहस र बलिदानले देशका जनतालाई निरन्तर प्रेरणा दिइरहने बताए। राज्यका जनताको पक्षबाट मुख्यमन्त्रीले देशका प्रधानमन्त्री नरेन्द्र मोदीले यस दिनको महत्त्वलाई मान्यता दिएकोमा आभार व्यक्त गरे। कार्यक्रममा सहभागी सबै नागरिक, अधिकारी, प्रतिष्ठित व्यक्तिहरूप्रति मुख्यमन्त्रीले आभार प्रकट गरे। यसक्रममा गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा पनि संविधान हत्या दिवस पालन गरियो। यस अवसरमा तिक्जुक क्योङसा ग्राम पञ्चायत यूनिटका पञ्चायत अध्यक्ष जाङ्मो भोटिया मुख्य अतिथिकारूपमा उपस्थित रहेकी थिइन्। गेजिङ जिल्लाका जिल्लापाल तेञ्जिङ डी. डेञ्जोङपा, अतिरिक्त जिल्लापाल सुरेश राई लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। वर्ष १९७५ मा देशका तत्कालीन प्रधानमन्त्रीले लगाएको आपतकालको समयमा अन्यायको विरोध गर्ने र त्यसविरुद्ध लड्नेहरूलाई सम्मान गर्ने उद्देश्यले ‘संविधान हत्या दिवस’ पालन गरिएको हो। जिल्लापालले आफ्नो सम्बोधनमा कार्यक्रम आयोजनमा सहयोगका लागि सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागलाई धन्यवाद दिए। जिल्लापालले यस दिनको ऐतिहासिक महत्वलाई संक्षिप्तरूपमा प्रकाश पारेका थिए। यसक्रममा मंगन जिल्लाका जिल्ला प्रशानिक केन्द्रमा पनि संविधान हत्या दिवस पालन गरियो। यस अवसरमा जिल्ला अध्यक्ष कादो लेप्चाको नेतृत्वमा एक ऱ्यालीको पनि आयोजन गरियो। उक्त अवसरमा अतिरिक्त जिल्लापाल पेमा वाङछेन नाम्कर्पा, अतिरिक्त जिल्लापाल (विकास) डा. सोनाम रिञ्छेन लेप्चा, महकुमा अधिकारी सोनाम रिञ्छेन दोर्जी लगायत विभिन्न विभागका प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष लेप्चाले कार्यक्रममा सक्रियरूपमा सहभागीहरुप्रति आभार प्रकट गरे। यस्तै प्रकारले सोरेङ जिल्लाका जिल्लापाल धीरज सुवेदीको मुख्य आतिथ्य़मा कार्यक्रम आयोजन गरियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिल्लापाल सुवेदीले आजको यस कार्यक्रमको महत्वबारे प्रकास पार्दै लोकतन्त्रविरूद्ध कार्यप्रति जोड दिए। यसका साथै उनले सबैलाई सचेत रहन, संवैधानिक मूल्यमान्यताहरूलाई कायम राख्न र आफ्नो कार्यमा शान्त र जिम्मेवारी पुरा गर्न आग्रह गरे। यसक्रममा पाकिम जिल्लाको सामुदायिक केन्द्रमा पनि संविधान हत्या दिवस पालन गरियो। कार्यक्रममा लोकसभा सांसद इन्द्रहाङ सुब्बा मुख्य अतिथिकारूपमा उपस्थित थिए। साथमा जिल्ला पञ्चायत अध्यक्ष लाडेन ल्हमु भोटिया, जिल्ला उपाध्यक्ष प्रभा प्रधान, जिल्लापाल रोहन अगवाने, अतिरिक्त पुलिस अधीक्षक एम प्रधान लगायत विभिन्न विभागका अधिकारीहरू सामेल रहेका थिए। यस अवसरमा पाकिम बजारमा एक ऱ्याली आयोजन गरिएको थियो। जसमा प्रजातन्त्र अमर रहोस् जस्ता प्ले कार्डहरू बोकेर बजार परिक्रमा गरिएको थियो। सोही प्रकारले मंगन जिल्लाको जङगु निर्वाचन क्षेत्रअन्तर्गत पासिङदाङ खण्ड प्रशासनिक केन्द्रमा पनि संविधान हत्या दिवस पालन गरियो।

कार्यक्रममा जङगु निर्वाचन क्षेत्रका विधायक एवं वन विभागीय मन्त्री पिन्छो नामग्याल लेप्चा मुख्य अतिथिकारूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले सहभागीहरूलाई लोकतान्त्रिक सिद्धान्त कायम राख्न र संवैधानिक अधिकारमाथि हुने कुनै पनि खतराविरुद्ध सतर्क रहने आग्रह गरे। कार्यक्रमको उद्देश्य विशेष गरेर युवाहरूमा लोकतान्त्रिक संस्थाहरूको शक्ति र स्वतन्त्रताबारेमा जागरूकता गराउने रहेको थियो। यस अवसरमा मंगन जिल्लाका जिल्ला उपाध्यक्ष सोनम किपा भोटिया, महकुमा अधिकारी, खण्ड विकास अधिकारी लगायत अन्यहरूको पनि सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement