गान्तोक: सिक्किम सरकारको पर्यटन विभागीय मन्त्री छिरिङ टी. भोटियाले आज गेजिङ जिल्लाको ग्याङयाप अप्पर चोङराङ विद्यालयमा निर्मित नयाँ एसेम्बसी ग्राउण्डको उदघाटन गरे। शिक्षा विभागको समग्र शिक्षा योजनाअन्तर्गत निर्माण गरिएको दुई तले स्कूल भवन निर्माण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भोटियाले विद्यालयको सामुहिक विकासको निम्ति योगदान पुऱ्याउने सम्पूर्ण अधिकारी साथै व्यक्तित्वहरूप्रति आभार प्रकट गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङले शिक्षाको क्षेत्रलाई प्राथमिकता दिँदै आइरहेको मन्त्रीले दाबी गरे। उनले तामाङको नेतृत्वमा शुरू गरिएको विभिन्न योजनाको फलस्वरूप यस वर्षको बोर्ड परीक्षामा विद्यार्थीहरूले उत्कृष्ट परिणाम हासिल गरेको अवगत गराए। मन्त्रीले थप जानकारी गराएअनुसार उच्च शिक्षा हासिल गर्ने मेधावी विद्यार्थीहरूका लागि मुख्यमन्त्री छात्रवृत्ति योजना र आर्थिक रूपमा कमजोर वर्गका विद्यार्थीहरूका लागि एमबीबीएस सीट आवाण्टन गरेको छ। सिक्किमका सरकारी विद्यालयहरूलाई शैक्षिक र पूर्वाधार दुवैमा आधुनिक, विश्वस्तरीय मापदण्डहरूअनुरूप रूपान्तरण भइरहेको उनले उल्लेख गरे। उनले शिक्षकहरू अब आधुनिक शैक्षिक उपकरणहरूले सुसज्जित भएको र हालका वर्षहरूमा पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको बताए। सरकारी विद्यालयहरूमा विद्यार्थीहरूको भर्ना संख्यामा कमी आएकोमा चिन्ता व्यक्त गर्दै उनले जनतालाई आफ्ना नानीहरूलाई सरकारी स्कूलमा भर्ना गर्ने आग्रह गरे। उनले सरकारद्वारा सञ्चालित विद्यालय मार्फत उपलब्ध विभिन्न व्यावसायिक तालिम र व्यावसायिक शिक्षाका अवसरहरूलाई थप प्रकाश पार्दै विद्यार्थीहरूलाई उक्त माध्यमद्वारा भविष्य सुरक्षित बनाउने आग्रह गरे।