गान्तोक: सिक्किम डेमोक्रेटिक पार्टीको सरकार छँदा राज्यमा प्रत्येक २५ जूनको दिन पालन गरिने टेन मिनट्स टू अर्थत अर्थात पृथ्वीलाई १० मिनट कार्यक्रम सत्ताबाट बाहिरिएर पनि निरन्तर पालन गरिरहेको छ। यसै क्रममा आज पनि राज्यका विभिन्न स्थानमा पार्टीका कार्यकर्ताले यो कार्यक्रम पालन गर्दै विरुवाहरू लगाए। यस पर्यावरणमुखी विशेष कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङको पनि सहभागिता रहेको थियो। यस अवसरमा उनले विभिन्न प्रजातिका विरुवा लगाए।
प्रचार प्रसार विभागका उपाध्यक्ष कृष्ण खरेलले प्रेस विज्ञप्ती जारी गरेर एसडीएफ पार्टीले पर्यावरणको संरक्षण र सम्वर्धनलाई कतिको महत्व दिन्छ भन्ने बारेमा बताएका छन्। उनले भनेका छन्- सन् १९९६ देखी हरित क्रान्ति वर्षको नाममा एसडीएफ पार्टीले प्रकृति र पर्यावरणलाई जोगाउन औपचारिक रुपमा विभिन्न कार्यक्रमको थालनी गरेको थियो जसको परिणामस्वरूप सन १९९८ मा तत्कालीन मुख्यमन्त्री पवन चामलिङलाई भारतको ग्रीनेस्ट चिफ मिनिस्टरको उपाधीले विभूषित गरियो। यसरी नै एसडीएफ पार्टीको सरकारले वर्ष २००० देखि २०१० को अवधिलाई हरित क्रान्ति घोषित गर्दै राज्य हरित मिशन सञ्चालन गऱ्यो भने २५ जून २००९ देखि राज्यव्यापी रुपमा टेन मिनट्स टू अर्थ कार्यक्रम आरम्भ गरेको हो।
पूर्व एसडीएफ सरकारले सञ्चालन गरेको टेन मिनट्स टू अर्थ कार्यक्रमको उद्देश्य त्यस दिन प्रत्येक नागरिकले कम्तिमा १० मिनट पर्यावरणको संरक्षण र सम्वर्धनमा खर्च गर्नु रहेको थियो। पार्टीले यस परम्परालाई सरकारबाट हटेर पनि निरन्तर सञ्चालन गरिरहेको छ।