पञ्चायत र सम्बन्धित विभागबाट निरीक्षण
खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार चियाबारी जाने सडकमा पैह्रो गएपछि बुधबार सम्बन्धित विभागका अधिकारीहरु र महानदी ग्राम पञ्चायतको प्रधान, पञ्चायत समिति सदस्य र पञ्चायत सदस्य आदिद्वारा पैह्रो क्षेत्रको निरीक्षण गरेका छन्। महानदीदेखि सिविटार जाने रोड अन्तर्गत गैरी गाउँ पुग्ने बेलामा सडकको आधा भाग मंगलबार राती पैह्रोले लगेपछि गाडीहरु कुदाउन जोखिमपूर्ण बनेको थियो। उक्त पैह्रोको निरीक्षण गर्नलाई खरसाङबाट डब्ल्युबीएसआरडीए विभागबाट सहायक अभियन्ता विशाल प्रधान, एसएई मन्डुप लामा साथै महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा, पञ्चायत समिति सदस्य कुसाङ लामा र पञ्चायत सदस्य राजीव तामाङ आदिले निरीक्षण गरेर पञ्चायतको तर्फबाट पोलिथिन लगाएर ढाक्ने काम गरिएको छ। प्राप्त जानकारी अनुसार महानदीको जिरोदेखि सिविटार कोठीडाँडासम्मको सडक मरमत्तिको कार्य आगामी जुलाईदेखि शुरु हुने भएको छ। मरमत्तिको कार्य पूरा नभएसम्म यो पैह्रो क्षेत्रबाट ठूला गाडीहरु कुदाउन निषेध गरिएको छ भने साना गाडीहरूलाई पनि सावधानीपूर्वक कुदाई दिने अनुरोध गरिएको छ। त्यसरी नै सिविटारमा चलिरहेको जल जीवन मिशनको ठुल्ठुला गाडीहरु चलाउन बन्द गरिएको साथै आपतकालीन अवस्थामा राशन र अन्य बोक्ने पिक अप भ्यानहरुलाई सदाको भन्दा कम लोड लिएर कुदिदिने अनुरोध गरिएको छ।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पाले सिविटार जाने रोडमा पैह्रो गएपछि आफुहरु पैह्रो निरीक्षणको लागि पुगेर पञ्चायतको तर्फबाट पोलिथिन लगाएर छोप्ने कार्य गरिएको बताएका छन्। उनले यो रोडको मरमत्ति कार्य र फराकिलो बनाउने कार्य आगामी जुलाईदेखि शुरु हुने भएको सम्बन्धित विभागले जानकारी गराएको पनि बताएका छन्। उनले यो पैह्रो भएर ठूला गाडीहरु नकुदाई दिनलाई अनुरोध गरिएको साथै आपतकालीन अवस्थामा राशन पानी बोक्ने गाडीहरुले पनि सदाको भन्दा केही कम लोड बोकिदिने अनुरोध गरेका छन्। उनले सम्पूर्ण चालकहरुलाई यहाँबाट सावधानीपूर्वक गाडी चलाई दिने अनुरोध पनि गरेका छन्।

त्यसरी नै पञ्चायत सदस्य राजीव तामाङले मंगलबार राती पैह्रो गएको सुन्नासाथ पैह्रोको निरीक्षण गरेर पञ्चायत प्रधानलाई जानकारी गराएको र बुधबार निरीक्षणमा पनि गएको जानकारी गराएका छन्। उनले सबैलाई यस पैह्रो भएर सावधानीपूर्वक गाडी चलाई दिने अनुरोध गरेका छन्।