गान्तोक: नेपाली लघुकथा साहित्यमा उल्लेखनीय योगदान पुर्यांउँदै आएका साहित्यकार हेमराज अधिकारीलाई “हेमलता स्मृति लघुकथा सम्मान–२०८२” प्रदान गरिने भएको छ। नमस्ते आधुनिक लघुकथा मञ्च, राप्तीनगरपालिका, चितवनद्वारा कीर्तिशेष स्रष्टा हेमलता उप्रेतीको स्मृतिमा स्थापना गरिएको यस वार्षिक सम्मानअन्तर्गत स्तरीय लघुकथा लेखनमा क्रियाशील तर हालसम्म कृति प्रकाशित नगरेका एक पुरुष र एक महिला स्रष्टालाई प्रत्येक वर्ष सम्मानित गरिँदै आएको छ। गम्भीर ग्रामीण यथार्थ, सामाजिक चेतना र मानवीय संवेदनामा आधारित दृष्टिकोणमार्फत नेपाली लघुकथालाई अन्तरसीमीय साहित्यिक अभियानको रूपमा विस्तार गर्दै आएका अधिकारीलाई यस वर्षको पुरुष स्रष्टा श्रेणीमा सम्मानित गरिने मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले जानकारी दिएका छन्। अधिकारीलाई नगद ५,५५५ रुपियाँ, ताम्रपत्रसहितको सम्मान–पत्र अर्पण गरिनेछ। उक्त सम्मान आगामी असोज ९ र १० गते राप्तीनगरपालिकामा आयोजना हुने राष्ट्रिय समारोहका अवसरमा हस्तान्तरण गरिने मञ्चले जनाएको छ। यस वर्ष महिला स्रष्टा श्रेणीमा कर्णाली प्रदेश, सुर्खेत निवासी दिव्याङ्ग साहित्यकार ‘प्रतिज्ञा’ (हिमा रोका) लाई सम्मान गरिनेछ। मञ्चका संस्थापक अध्यक्ष डल्लाकोटीले, यस सम्मानले सीमापारका नेपाली भाषी स्रष्टाहरूको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। हेमराज अधिकारी लघुकथा विधामा मात्र होइन, विचारधारात्मक लेखन र भाषिक विश्लेषणका क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। उनी सिक्किमेली लघुकथा समाजका प्रमुख सम्पादक (एड्मिन) समेत हुन्। ग्रामीण जीवनका पीडा, सामाजिक संरचनाको संवेदना र यथार्थपरक दृष्टिकोणमार्फत उनको लेखनले नेपाली लघुकथामा गहिरो प्रभाव छाडेको छ। यस सम्मानलाई नेपाली लघुकथाको क्षेत्रमै सीमापार चेतनाको उज्यालो पाटोको रूपमा हेरिएको छ।