गेजिङ: सिक्किम सरकारको “आत्मनिर्भर कृषक, समृद्ध सिक्किम” अभियानलाई साकार पार्ने उद्देश्यले आज मानेबोङ–देन्ताम समष्टिका कृषकहरूलाई कृषि तथा वागवानी विभागद्वारा विभिन्न आधुनिक कृषि उपकरण तथा उन्नत प्रजातिका ठूलो अलैंचीको बिरुवा वितरण गरियो। देन्ताम महकुमा कार्यालय परिसरमा आयोजित कार्यक्रमका विधायक सुदेस कुमार सुब्बा मुख्य अतिथि थिए। उनले कार्यक्रमको उद्घाटन गर्दै राज्य सरकारले कृषकहरूको समृद्धिको लागि अप्नाएको कृषि–केन्द्रित विकास नीतिको प्रशंसा गर्नका साथै आगामी दिनमा अझ प्रभावकारी योजनाहरू ल्याइने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमअन्तर्गत कृषकहरूलाई निम्न सामग्रीहरू वितरण गरिएको थियो। जस्मा उन्नत प्रजातिका अलैंचीको बिरुवा, मौरी पालनका लागि डुँढ़ र एक्रोनेट, सिँचाइ सुविधा विस्तार गर्न पोलीपाइप,ग्रीन हाउस निर्माणको लागि आवश्यक प्लास्टिक सामग्री आदि रहेको थियो। यस कार्यक्रम मिशन फर इन्टिग्रेटेड डेभलप्मेन्ट अफ हर्टिकल्चरअन्तर्गत २०२५–२६ आर्थिक वर्षको योजनामा समावेश गरिएको हो। कार्यक्रममा देन्तामका खण्ड विकास अधिकारी वाङदी छिरिङ भोटिया, वागवानी विभागका अतिरिक्त निर्देशक कर्मा शेर्पा तथा एचडीओ र अन्य विभागीय कर्मचारी, जिल्ला र वार्डस्तरका जनप्रतिनिधिहरू, समष्टिका अध्यक्ष दावा नर्बू शेर्पा, स्थानीय कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले कृषकहरूलाई आधुनिक प्रविधिमैत्री तथा बजारमुखी उत्पादनमा अग्रसर बनाउने विश्वास राखेको छ।