गान्तोक: सिक्किम सरकारसित सम्बन्धित तथ्यहरूलाई बङ्गाएर प्रस्तुत गरेको र सरकारी लोगोको दुरुपयोग गरेको आरोपमा पक्रा परेका गोर्खा सेवा सेनाका तीन सदस्यहरू सुवास मणि सिंह, विक्रमादि राई र नोएल शर्मा जमानतमा रिहा भएका छन्। आज गान्तोकको सत्र न्यायालयले उनीहरूलाई जमानत दिएको छ। सिक्किम सरकारको गृह विभागले दर्ता गरेको एउटा प्राथमिकीको आधारमा गान्तोक सदर पुलिसले सुवास मणि सिंहलाई कोलेबुङ, विक्रमादि राईलाई दार्जीलिङ र नोएल शर्मालाई गान्तोकबाट पक्राउ गरेको थियो। १७ दिनसम्म पुलिस अनि न्यायिक हिरासतमा बसेपछि उनीहरू आज जमानतमा मुक्त भएका हुन्।
उल्लेखनीय छ, गोर्खा सेवा सेनाका यी तीन आरोपी सदस्यहरूको जमानतको निम्ति अधिवक्ताहरूको एउटा ठूलो टोलीले कानुनी लड़ाई लड़ेको थियो जसमा नरेन राई, प्रताप खाती, वन्दना राई, पासङ तामाङ र सुरज छेत्री रहेका छन्।