शंकाका घेराभित्र समानता र समान अधिकार

आज देशमा नारी उत्पीडन, बलात्कार, अपहरण, घरेलु हिंसा, एसिड प्रहार, दाइजो प्रथा, लिङ्गभेद, भ्रुणहत्या, कार्यालयमा महिलाकर्मीमाथि शोषणजस्ता घटनाको बढ्दो दरले एकातिर लिङ्ग समानता र समान अधिकार शंकाका घेराभित्र परेका छन्। यसमा समाज पनि दोषमुक्त रहन सक्दैन। छोरीलाई पुरूषका सम्मान गर्ने संस्कार सिकाउने समाजले छोरालाई पनि नारीको सम्मान गर्ने संस्कार दिएका भए यस्ता घटनाहरू शायद हुने थिएनन् भन्ने सोच राख्नुलाई गलत भन्न सकिँदैन। भारतमा हरदर प्रत्येक पन्ध्र मिनटमा एकजना नारी बलात्कारका शिकार हुन परिरहेछ। समान अधिकारको कुरो गरिन्छ, तर समाज र परिवार व्यवहारिक रूपमा अझैपनि यसलाई स्वीकार्न तयार भएका छैनन् नत्र राती घर फर्किँदा छोरीलाई सोधपुछ गर्ने परिवारले छोरालाई पनि त्यही प्रश्न सोध्नुपर्ने हो। ठट्टा र हस्यौलीहरूमा नारी नै उपहासका पात्रा बनिरहेका हुन्छन्। यो पनि शोषणको बेग्लै स्वरूप हो। नारीमाथि अत्याचार र शोषण तीन तहमा हुँदछन् – उच्च, मध्यम र निम्न। उच्च तहमा पर्ने सम्पन्न परिवारका नारीहरूमाथि हुने शोषण र अत्याचार बदनामीको डरले ढाकछोप गरिन्छ।
‘प्राचीनकालदेखि नै नारीले शारीरिक र मानसिक अन्याय र अत्याचार खप्दै आएको इतिहास साक्षी छ। रामायणमा सीताको अग्नि परीक्षा र महाभारतमा द्रौपदीको चीरहरणका घटनाले नारीको स्थितिमाथि चिन्तन र मनन गर्ने आवश्यकताबोध गराउँछ‘
मध्यम तहमा हुने अत्याचार पनि प्रकाशमा ल्याइन्दैन, तर जति पनि शोषण र अत्याचारहरू हुन्छन् ती सबै तृणामूल तहका मात्र देखिन्छन्। सैद्धान्तिक तवरमा भारतमा सती प्रथा अङ्ग्रेजको शासनकालमा राजा राममोहन रायको पहलमा समाप्त भएको हो, तर व्यवहारिक रूपमा यो प्रथा भारतका कुना कुनामा अझै पनि व्याप्त छ। सरकारी रिपोर्टअनुसार सन् १९४३ –देखि सन् १९८७ –सम्मको अवधिमा भारतमा झण्डै तीसजना नारी सती प्रथाका शिकार भए। सन् १९८७ –मा राजस्थानकी १८ वर्षिय युवती र सन् २००२ –मा मध्यप्रदेशकी ६५ वर्षिया महिलाले पतिको चितामा आत्मदाह गरे। नारीलाई दोस्रो लिङ्गमा राख्ने पहिलो लिङ्गका पुरूषहरू यी घटनाका मूकदर्शक बने।
प्राचीनकालदेखि नै नारीले शारीरिक र मानसिक अन्याय र अत्याचार खप्दै आएको इतिहास साक्षी छ। रामायणमा सीताको अग्नि परीक्षा र महाभारतमा द्रौपदीको चीरहरणका घटनाले नारीको स्थितिमाथि चिन्तन र मनन गर्ने आवश्यकताबोध गराउँछ। नारीलाई स्वयम्बर प्रथाअनुसार आफ्नै वर चुन्ने अधिकारप्राप्त थियो, तर साँच्चै नै यसलाई अधिकार भन्न मिल्छ? सीताले त्यस्ता पुरूषहरूको जमघटबाट मात्र वर चुन्नु परेको थियो जसले सीतालाई बिहे गर्न चाहन्थे। उसलाई जमघट बाहिरका पुरूषको छनौट गर्ने अधिकार थिएन। भन्नुको अर्थ नारीको वर चुन्ने अधिकार सीमाङ्कित थियो। खुला सभामा नारीले वर चुन्नुपर्ने प्रथालाई कहाँसम्म न्यायसंगत भन्न सकिन्छ भन्ने अर्को प्रश्न उठ्नु पनि स्वाभाविक हो। सीताले गर्भवती अवस्थामा अयोध्याको महल त्यागेर जङ्गलमा बाल्मीकि आश्रममा जीवन व्यतीत गर्नुपरेको स्थिति पनि नारी अत्याचारको साक्षी बन्दछ। सीताले कैंयौचोटि आफ्ना पुत्रद्वय लव र कुश रामकै पुत्र हुन् भन्ने प्रमाणित गर्नुपरेको थियो। यसमा रामले ऋषि बाल्मीकिसमेतको विश्वास गरेनन्। केही सीप नलाग्दा अन्तमा सीताले ‘म पवित्र छु भने धरती फाटियोस् र म त्यसमा विलीन हुनपाऊँ’ भनी प्रार्थना गर्दा अचानक धरती फाटिन्छ र सिंहासनमा विराजमान पृथ्वी देवी प्रकट हुन्छिन् र सीता उनको काखमा बसी जमीनमुनि विलीन हुन्छिन्। सीताले अत्याचार खप्न नसकेर नै यति ठूलो बलिदान दिएकी हुन्। रामायणमा नारीप्रति अत्याचार र शोषणको चरमबिन्दु यसलाई मान्न सकिन्छ। रामायणमा आफ्ना दाज्यू रामलाई वनवासमा साथ दिने लक्ष्मणले आफ्नी धर्मपत्नी उर्मिलाको भावना र इच्छालाई सरासर अनदेखा गरे। उर्मिलाको त्याग र बलिदान अनि उनको मनोदशा र मनोस्थिति रामायणमा उल्लेखित छैन। किनकि उनी दोस्रो लिङ्ग नारी थिइन्। महाभारतमा द्रौपदीले मन पराएका पुरूष कर्ण थिए, तर परिस्थितिका शिकार बनेर उनी पाँच पाण्डव सबैलाई स्वामी स्वीकार्न बाध्य हुनपर्यो। यसमा द्रौपदीको विचार र अभिरूचिलाई पूर्णतया उपेक्षा गरियो। उनी आफ्ना अधिकार र स्वतन्त्रताबाट बञ्चित रहिन्। द्रौपदीको चीरहरणका बेला उपस्थित सबै पुरूषले घटनाका आनन्द लिइरहेका थिए। आफ्नै स्वामीहरू पनि मूकदर्शक थिए। द्रौपदीको बचाउमा कृष्ण सिवाय कोही अघि सरेनन्। नारी सम्मान र नारी सुरक्षाका कृष्णको अपरोक्ष सन्देशलाई कसैले बुझ्न सकेनन्। तमाम पुरूष जातिका निम्ति कृष्णले प्रस्तुत गरेको यस आदर्शलाई कसैले देख्न सकेनन्। महाभारतमा कुरूक्षेत्रको लडाई र कृष्णवाणीमाथि मात्र प्राथमिकता दिइएको छ तर पुरूष जातिलाई कर्त्तव्यबोध गराउने कृष्णको यो बहुमूल्य सन्देशले प्रमुखता पाउन सकेन। नारीलाई सम्पदाको रूपमा लिने तत्कालीन समाजको मान्यता यसबाट छर्लङ्ग हुँदछ। चीरहरण आज बलात्कारको रूप धारण गरी समाजमा उत्रेको छ तर वर्तमान समयमा कोही पनि कृष्ण बन्न सकेका छैनन्।
‘तर एक्काइसौं शताब्दीमा पनि नारी सशक्तिकरणको विषय किन उठान भइरहेछ? यसको कारण आम तवरमा नारीहरू अझैसम्म सक्षम बन्न नसक्नु हो अथवा उनीहरूलाई सक्षम बन्नमा बञ्चित गराइनु हो’
२०११ –को जनगणनाअनुसार भारतमा महिला साक्षरता दर ६५.५ र पुरूष साक्षरता दर ८२.१ छ। साक्षारित हुनु र शिक्षित हुनुमा फरक छ। विद्यालय, महाविद्यालय र विश्वविद्यालयका ठेलीका ठेली प्रमाणपत्र हासिल गर्नुमात्र शिक्षित बन्नु होइन। शिक्षित त्यो हो जसले आफ्नै विवेकको प्रयोग गर्नसक्छ अनि जो निर्भीक छ। त्यसैले वर्तमान शिक्षित नारीहरू कतिसम्म निर्भीक छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक बन्नजान्छ। किनकि निर्भिकतालाई पनि सशक्तिकरणको एउटा मापदण्ड मान्न सकिन्छ। सशक्तिकरणको अर्थ नारीले पुरूषले उपभोग गर्ने अवसर, सुविधा र अधिकार सबैथोक उपभोग गर्न पाउनुसितै समान आर्थिक-सामाजिक दर्जा दिएर नारीलाई आर्थिक रूपमा स्थिर बनाई स्वनिर्भर बनाउनु पनि हो। नारी सशक्तिकरण र नारी उन्मुक्ति सहसम्बद्ध दुई अहम् विषय हुन्। पितृ सत्तात्मक रूढिवादी मानसिकताबाट उन्मुक्त नभएसम्म नारी सशक्त बन्न सक्दैन। त्यसर्थ नारी समस्या एउटा सामाजिक समस्या बन्न आवश्यक छ।
सशक्तिकरण सक्षमताको प्रतिबिम्ब हो। भारतका एकमात्र नारी प्रधानमन्त्री इन्दिरा गान्धी नै हुन् जसले सन् १९७५-मा देशमा आपदकाल (इमरजेन्सी) लागु गर्दा सारा विश्व उनको साहस र सक्षमतामा स्तब्ध बनेका थिए। यो हो सशक्तिकरण। पश्चिम बङ्गालकी राज्यसभा सदस्य खरसाङ निवासी मायादेवी छेत्रीले पाठशालाको कहिल्यै दर्शन गरिनन्। उनी कटिबद्धता र आत्मविश्वासको वैशाखी भिरेर सांसदजस्तो गरिमामय चौकीमा पुगिन्। यो हो नारी सशक्तिकरण। सिक्किमकी पूर्व सांसद दिलकुमारी भण्डारीले सन् १९९२ –को २० अगस्तको दिन लोकसभामा नारी शक्तिलाई प्रमाणित नगरेकी भए सम्भवतः नेपाली भाषा मान्यता आन्दोलन अझै पनि टुङ्गोमा पुग्ने थिएन। यो हो नारी सशक्तिकरणको अर्को आदर्श। तर एक्काइसौं शताब्दीमा पनि नारी सशक्तिकरणको विषय किन उठान भइरहेछ? यसको कारण आम तवरमा नारीहरू अझैसम्म सक्षम बन्न नसक्नु हो अथवा उनीहरूलाई सक्षम बन्नमा बञ्चित गराइनु हो। उदाहरणार्थ नेपाली साहित्यलाई लिनसकिन्छ।
आजको सन्दर्भमा साहित्यिक जगतमा नारी धेरै अग्रज रहेको कसैले नकार्न सक्दैन, तर साहित्यिक क्षेत्रको सर्वोच्च सम्मान साहित्य अकादमी पुरस्कारले अहिलेसम्म नेपाली भाषाका ४३ जना साहित्यकारहरू सम्मानित भइसकेका छन् तर उनीहरूमा नारी साहित्यकार चारजना मात्र छन् (लक्खीदेवी सुन्दास, विन्ध्या सुब्बा, गीता उपाध्याय र बीना हाङ्किम)। भन्नुको अर्थ दस प्रतिशत मात्र नारीहरू सम्मानित भएका छन्। यसलाई कुन दृष्टिले हेर्ने? संसदको निम्न सदन वर्तमान सत्रहौं लोकसभामामहिला सदस्यहरू ७८ जना छन् जो स्वाधीनतापछिको सर्वाधिक संख्या हो। यसको अर्थ वर्तमान लोकसभामा चौध प्रतिशत मात्र नारी सदस्य छन्। नारी जनप्रतिनिधिमाथि मतदाताहरूको भरोसा नभएकै कारण राजनैतिक पार्टीहरू पुरूष उम्मेदवारलाई चुनावी मैदानमा उतार्न रूचाउँछन्। यता सिक्किमकै पनि उदाहरण लिनसकिन्छ। ३२ सदस्यीय राज्य विधानसभामा तीनजना मात्र नारी विधायक छन् अनि नारी मन्त्री एकैजना पनि छैनन्। यसको अर्थ राजनैतिक क्षेत्रमा नारी सक्षम छैनन् भन्ने होइन तर समाज नारीको योग्यता र सक्षमतालाई स्वीकार्न र नारीलाई सशक्त बनाउन अझै पनि तयार छैन। फलस्वरूप नीति निर्माणमा नारीहरूको सक्रिय सहभागिता सुनिश्चित हुन नसक्दा नारीको बौद्धिकता सही प्रयोगमा आउनै सकेको छैन। यस्ता धेरै उदाहरण छन्। सामाजिक, साहित्यिक र गैर-सरकारी सङ्घ-संस्थानमा पनि नारीको सहभागिता धेरै कम देखिन्छ। लोकनिन्दाबाट जोगिने उद्देश्यले सङ्घमा सन्तुलित सहभागिता देखाउन उनीहरूलाई मनोनित मात्र गरिन्छ तर निर्वाचित गरिँदैन। त्यसर्थ पितृसत्तात्मक समाज उदार नबनेसम्म, समाजको सोचमा सुधार नआएसम्म अनि नारीको सक्षमतामाथि सामाजिक भरोसा नभएसम्म नारी सशक्त बन्न सहज छैन। महात्मा गान्धीले भनेका छन् – ‘निस्वार्थ सेवाको भावनामा पुरूष नारी समान कहिल्यै हुनसक्दैन।‘ तर समाजले नारीको यस गुणबाट लाभ उठाउन सकेको छैन।
‘नारी सशक्तिकरणका निम्ति चाहिने मूल तत्त्व अङ्ग्रेजीका तीनवटा सी हुन् – कम्पिटेन्स, क्यापाबिलिटी र कन्फिडेन्स। भन्नुको अर्थ सशक्तिकरणका निम्ति नारीमा तीनवटा तत्त्व हुन आवश्यक छ – सक्षमता, क्षमता र आत्म-विश्वास‘
हुनत समाजलाई पूर्ण दोषारोपण गर्नु पनि सही नहोला। प्राथमिकताका हकदार पुरूष बन्ने एउटै मात्र कारण हो, कमजोर वर्गमा नारीको समावेशी। यही नै आज नारी सशक्तिकरणका बाधक तत्त्व बनेको देखिन्छ। आश्चर्य लाग्छ, नौ महिनासम्म कोखमा राखी अवर्णनीय प्रसव पीडापछि जिउँदो मान्छेलाई जन्म दिनसक्ने शक्तिशाली सृष्टिकर्ता कसरी दुर्बल हुनसक्छिन्? हामी नारी पनि आफैलाई कमजोर वर्ग मान्दै प्राथमिकता र आरक्षणको पछि कुदिरहेका हुन्छौं र आफ्नो अयोग्यता र असक्षमतालाई स्वीकार गरिरहेका हुन्छौं। जुन व्यक्तिमा आत्मविश्वास हुँदछ उसलाई प्राथमिकता र आरक्षण जस्ता व्यवस्थाको आवश्यकता पर्दैन। तर नारीहरूमा आत्मविश्वासको कमी भएर नै सक्षम बन्न सकेका छैनन्। वास्तवमा नारीहरू बौद्धिक दृष्टिले पुरूषभन्दा अगौटे छन्। त्यसैकारण घरका मुखिया पुरूष हुँदाहुँदै पनि कुनै पारिवारिक निर्णय लिनपरे नारीलाई सोध्ने गरिन्छ अनि नारीको निर्णय अन्तिम हुँदछ। बौद्धिक र भौतिक रूपमा नारीहरू निःसन्देह आत्मनिर्भर बनिसकेका छन् तर अब शारीरिक, भावनात्मक, मानसिक र मनोवैज्ञानिक रूपले पनि आत्मनिर्भर बन्न सक्नुपर्छ। यो तबमात्र सम्भव छ जब नारीले ‘म सक्दिनँ’ भन्ने भावनालाई त्याग्छन्। यसो भएमात्र नारीहरूमा हीनभावना हटेर जान्छ अनि आत्मविश्वास आफैआफ बढ्दै आउँछ। जसमा आत्मविश्वास धेरै हुन्छ उ निर्भीक बन्छ। निर्भीक मान्छे पराश्रित कहिल्यै हुँदैन, उनीहरू आत्मनिर्भर बन्छन्।
नारीले पुरूषसित प्रतिस्पर्धा गर्न होइन, तर आफूलाई शिक्षित, बौद्धिक, सक्षम र योग्य बनाउनुपर्छ। कमजोर होइन तर सशक्त नारीको साहित्य रचिनुपर्छ। सशक्त र निर्भीक नारीको सिनेमा निर्माण हुनुपर्छ। नारी कोल्टे सशक्तिकरणमा होइन, तर सशक्तिकरणको पूर्णतामा गर्ववान्वित हुनुपर्छ। अब नारीले समाजका धारणा र विचारसित आफ्नो संघर्ष त्याग्नैपर्छ। नारी सशक्तिकरणका निम्ति चाहिने मूल तत्त्व अङ्ग्रेजीका तीनवटा सी हुन् – कम्पिटेन्स, क्यापाबिलिटी र कन्फिडेन्स। भन्नुको अर्थ सशक्तिकरणका निम्ति नारीमा तीनवटा तत्त्व हुन आवश्यक छ – सक्षमता, क्षमता र आत्म-विश्वास। यी तत्त्वका जननी शिक्षा, निर्भिकता, आर्थिक स्वतन्त्रता र स्वावलम्बन हुन्। यिनै तत्त्वको माध्यमद्वारा नारीले सशक्तिकरण र उन्मुक्तिको युद्ध लडेर समाजको हृदयमा भरोसाको स्थान सुरक्षित राख्नुपर्छ। तबमात्र हामी निर्विवाद भन्नसक्छौं, आजको सन्दर्भमा नारीहरू हर दृष्टिकोणबाट सशक्त छन्। ***
(लेखिका सुपरिचित सामाचार वाचिका/उद्घोषिका, स्वतन्त्र पत्रकार साथै नारीवादी लेखिका हुनुहुन्छ)