पूर्व फुटबल खेलाडी पेम्बा छिरिङ भोटियाको निधन

IMG-20250623-WA0066

सोनादा: इतिहासले एक युगमा केवल एक युगपुरुष जन्माउँछ, जसले आफ्नो कालको इतिहास रचेर जान्छ। दार्जिलिङले पनि यस्ता प्रतिभा तथा युग पुरुष समय काल अनुसार जन्माएका छन्। जो इतिहासकै गर्भमा विलिन भएर गए। १९७० को दशकमा दार्जिलिङ फुटबलको संसारमा आफ्नो एकल दबदबा बनाइराख्ने महान् खेलाडी तथा सोनादा डीबी रोड निवासी पेम्बा छिरिङ भोटियाको निधन भएको छ। उनको निधन ७५ वर्षको उमेरमा आईतबार उपचारको क्रममा उत्तर बंगाल मेडिकल कलेजमा भएको छ। उनको निधनले दार्जिलिङ पहाडको फुटबल इतिहासको एउटा युग समाप्त हुनका साथै फुटबल प्रेमीहरूमा गहिरो शोकको लहर छाएको छ। दिवङ्गत पेम्बा छिरिङ भोटिया सन् १९७४ मा हिमालयन स्पोर्टिङ क्लबका मुख्य खेलाडी थिए। तीब्र गति, बलियो शारीरिक बनावट र उत्कृष्ट स्ट्राइकिङ क्षमताका धनी पेम्बा छिरिङले ७० को दशकमा दार्जिलिङ जिल्लामा आयोजित लगभग सबै फुटबल खेलहरूमा उत्कृष्ट प्रदर्शन साथै जीत हाँसिल गरेर गौरवमय इतिहास नै रचेका थिए। खरसाङ गोथल्स मेमोरियल स्कूलका पूर्व विद्यार्थी पेम्बा एक बहुप्रतिभाशाली खेलाडी थिए। तिनी कुशल फुटबल खेलाडी हुनका साथै एथलेटिक्स, क्रिकेट र हकीमा समेत सशक्त खेलाडी थिए। सन् १९७३ मा उनले सन्त जोसेफ कलेजको फुटबल टिमबाट खेल्दा उनको प्रतिभा अझ उजागर भएको थियो। सन् १९७५ मा उनले ओलम्पियन चन्दनसिंह रावतको मार्गदर्शनमा फर्स्ट ब्रिगेड अफ् गोर्खाज गोल्ड कपमा दार्जीलिङ जिल्ला फुटबल टोलीका प्रमुख स्ट्राइकरका रूपमा खेलेका थिए। कोलकाता लिगमा खेल्ने धेरै अवसरहरू आउँदा पनि उनले दार्जीलिङ र चिया उद्योगमा आफ्नो भविष्य रोजे र रङमुक चिया बगानमा सहायक प्रबन्धकको रूपमा आफ्नो सेवा प्रदान गरेका थिए। १९७४ सालतिर पेम्बा छिरिङका खेल हेर्नेहरू जो आज पनि छन् उनीहरू अनुसार — “दार्जीलिङले त्यस्तो स्ट्राइकर अझै जन्माएको छैन।” भनी बताउँछन्। उक्त वर्षको “अल-ओरेञ्ज” हिमालयन स्पोर्टिङ टिम, जुन विश्व फुटबलको १९७४ को डच टिमबाट प्रेरित थियो, त्यसमा पेम्बा छिरिङलाई हल्याण्डका जोहान क्रोएफसँग तुलना गरिन्थ्यो। यी महान् खेलाडी, कुशल चियाबारी प्रशासक, बहुप्रतिभाका धनी अनि कैयौं खेलप्रेमीहरूका प्रेरणा पेम्बा छिरिङ भोटियाको निधन ७५ वर्षको उमेरमा भय। उनले आफुपछि वाङदेन मोक्तान भोटिया, दिदीबहिनी निङमा भोटिया, याङ्जी भोटिया, भाइ डण्डु भोटिया लगायत दार्जिलिङ खेलप्रेमी छोडेर गएका छन्। उनको देहसंस्कारको निम्ति बुधबार पूर्वान्ह ११ बजी घुम लाने पारिवारिक सूत्रबाट थाहा लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement