दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले आज दार्जीलिङमा पहिलो अतुल्य सुवास घिसिङ स्मृति पुरस्कार राजनीतिक अनि सामाजिक क्षेत्रमा योगदान दिएकी पूर्व विधायिका रेणुलिना सुब्बालाई प्रदान गरिएको छ। दार्जिलिङमा आयोजित एक भव्य समारोहबीच उक्त पहिलो सुवास घिसिङ स्मृति पुरस्कार प्रदान गरेको छ। गोरामुमोका संस्थापक सुवास घिसिङको जन्म जयन्तीको छेक पारेर उक्त पुरस्कार प्रदान गरिएको हो। दार्जिलिङको भानु भवनमा सम्पन्न पुरस्कार अलङ्करण समारोहमा जीटीए प्रमुख अनित थापा, कालेबुङका विधायक रुदेन सादा लेप्चा, दार्जीलिङका विधायक निरज जिम्बा, गोरामुमो अध्यक्ष मन घिसिङ लगायत अन्यको उपस्थिति रहेको थियो। यसै समारोहलाई सम्बोधन गर्दै जीटीए प्रमुख अनित थापाले अब उसो भानु भवनलाई सुवास घिसिङ रंगशाला भवन भनेर चिनिने घोषणा गरे।

समारोहमा उपस्थिति दिएपछि गोरामुमो अध्यक्ष मन घिसिङले आज आफ्नो वीर आप्पाको जन्मदिवसको अवसरमा आप्पाकै स्मरणमा लडाकु, राजनैतिक चेत भएका व्यक्तित्वलाई सम्मान गरेको देख्दा आफूलाई गर्वबोध भएको महसुस गरेको बताएका छन्।