नयाँ दिल्ली: भारतीय सीनियर पुरुष हकी टीमको निराशाजनक प्रदर्शनको क्रम बेल्जियमविरुद्ध पनि जारी रह्यो। भारतले एफआईएच प्रो लीगको यूरोपियन चरणअन्तर्गत बेल्जियमविरुद्ध म्याचमा ३-६-ले हारको सामना गर्नु पऱ्यो। यो भारतीय टीमको लगातार सातौं हार हो। म्याचमा भारतलाई ९ अनि बेल्जियमलाई ६ वटा पेनल्टी कर्नर हासिल भयो। प्रो लीगको यूरोपियन चरणमा अहिलेसम्म एउटा म्याच पनि जित्न नसक्दा भारतको आउँदो साल बेल्जियम र नीदरल्याण्डमा हुने वर्ल्ड कपमा सीधै क्वालीफाई गर्ने सपना पनि भताभुंगै भयो। अर्थर वान डोरेनले पहिलो मिनटमै गोल गरी विश्वको तेस्रो नम्बरको टीम बेल्जियमलाई बढ़त दिलाए। त्यसपछि २८औं मिनटमा अलेक्जेण्डर हेण्डरिक्सले अझ एक गोल गरी स्कोर २-० पुऱ्याए। दिलप्रीत सिंहले ३६औं मिनटमा पेनल्टी कर्नरमा भारतलाई पहिलो गोल दिलाए। त्यसपछि मनदीप सिंहले ३८औं मिनटमा फील्ड गोल गरी भारतलाई २-२-को बराबरीमा पुऱ्याए।
म्याचको चौथो तथा अन्तिम क्वार्टरमा भारतीय टीमको डिफेन्स भताभुंगै भयो। यसै मौकामा रोमन डुवेकोट (४९औं), थिब्यू स्टोकब्रोएक्स (५३औं) र वान डोरेन (५४औं मिनट)-ले मैदानी गोल गरेर स्कोर ५-२ पुऱ्याए। अमित रोहिदासले ५६औं मिनटमा पेनल्टी कर्नरबाट भारतलाई म्याचको तेस्रो गोल दिलाए तर ३ मिनटपछि टम बूनले बेल्जियमको निम्ति अझ एक गोल गरे। भारत यस हारपछि ९ वटा टीमको पोइण्ट्स टेबलमा १५ पोइण्ट्सको साथ आठौं स्थानमा रह्यो। भारतले ५ वटा म्याच जितेर १० वटा हारेको छ। भारतले यस चरणको अन्तिम म्याचमा आइतवार फेरि बेल्जियमको सामना गर्नेछ।