लीड्स: भारतले ईंग्ल्याण्डविरुद्ध जारी एण्डरसन-तेन्दुलकर ट्रफी टेस्ट सीरीजअन्तर्गत पहिलो टेस्ट म्याचको पहिलो ईनिंग्समा शनिवार ४७१ रन बनायो। शीर्ष क्रमका ३ जनाले शतक बनाए पनि भारतले आफ्नो पहिलो ईनिंग्समा ५०० रन बनाउन सकेन। यशस्वी जयसवाल र कप्तान शुभमन गिलले म्याचको पहिलो दिन नै शतक बनाएका थिए भने आज म्याचको दोस्रो दिन रिषभ पन्तले टेस्ट क्रिकेटमा आफ्नो सातौं शतक बनाए। पन्त र गिल क्रीजमा रहँदासम्म भारतले ५०० रन सजिलै बनाउने लागिरहेको थियो तर पछिबाट लगातार विकेटको पतन हुँदा भारतको पहिलो ईनिंग्स ४७१ रनमा समाप्त भयो। भारतले आज आफ्नो अन्तिम ७ विकेट केवल ४१ रनमा गुमायो। ईंग्ल्याण्डका कप्तान बेन स्टोक्स र युवा पेस बलर जोश टंगले ४-४ विकेट हासिल गरे। जवाफमा ईंग्ल्याण्डले आफ्नो पहिलो ईनिंग्समा अन्तिम अपडेट प्राप्त हुँदासम्म २ विकेटमा १४३ रन बनाएको थियो। ओली पोप ६६ रन र जो रुट ७ रन बनाएर खेलिरहेका थिए। ईंग्ल्याण्डले आज ओपनर ज्याक क्राउली र बेन डकेटको विकेट गुमायो। क्राउलीले ४ र डकेटले ६२ रन बनाए। दुवै विकेट जसप्रीत बुमराहले हासिल गरे।
यसअघि भारतले आज पहिलो दिनको स्कोर ३ विकेटको नोक्सानमा ३५९ रनदेखि अघि खेल्नै शुरु गऱ्यो। दोस्रो दिनको खेलमा गिल र जयसवालले टीमलाई असाधारण शुरुवात दिलाए। गिल र पन्तले मिलेर चौथो विकेटको निम्ति २०९ रनको पार्टनरशीप गरे। भारतलाई आज कप्तान गिलको रूपमा पहिलो धक्का लाग्यो अनि उनलाई स्पिनर बशीरले आउट गरे। गिलले २२७ बल खेलेर १९ वटा चौका र एउटा छक्काको साथ १४७ रन बनाए। गिल आउट भएपछि करुण नायर खाता पनि नखोली स्टोक्सको शिकार बने। त्यसपछि भारतले पन्तको विकेट पनि गुमायो। पन्तले १७८ बल खेलेर १२ वटा चौका र ६ वटा छक्काको साथ १३४ रन बनाए। त्यसपछि भारतको तल्लो क्रमलाई समेट्न ईंग्ल्याण्डलाई कुनै समस्या भएन। रविन्द्र जडेजा ११ र शार्दुल ठाकुर १ रन बनाएर आउट भए।