कोलकाता: इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले आफ्नो उत्तराधिकारी छनोट गरेका छन्।
इजराइलले लगातार इरानमाथि कठोर हमला गरिरहेको अवस्था र संयुक्त राज्य अमेरिकाको लगातारको चेतावनीबीच खामेनीले आफ्नो सम्भावित हत्याको आकलन गर्दै उत्तराधिकारी छानिसकेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्।
अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका अनुसार खामेनीले तीन जना धर्मगुरूहरूबाट एकजनालाई उत्तराधिकारी छान्न निर्देशन दिएका छन्। खामेनी आफै पनि अहिले गुप्त बंकरमा लुकेका छन्।
आफू बसेको ठाउँ पत्ता नलगाउन् भनेर विद्युतीय सञ्चारमाध्यमहरूको पहुँचबाट पनि उनी टाढा रहेको तीन इरानी अधिकारीहरूलाई उद्धृत गरेर न्युयोर्क टाइम्सले लेखेको छ।
इरानमा विज्ञहरूको सभा (एसेम्ब्ली अफ एक्सपर्ट)ले सर्वोच्च नेता छान्छ। सभामा ८८ जना धार्मिक विद्वानहरू हुन्छन्। सोही सभालाई खामेनीले तीन जनाको नाम दिएर उनीहरूमध्ये एकलाई आफ्नो उत्तराधिकारी बनाउन निर्देशन दिएको इरानी अधिकारीहरुले बताएका छन्।
प्रक्रियागत ढंगबाट सर्वोच्च नेता छान्न सभालाई महिनौं लाग्न सक्छ। सभाले सर्वाच्च नेता चुन्न उम्मेदवार छानेर त्यसमा गोप्य मतदान गर्छ। अहिले देश युद्धमा भएका कारण प्रक्रियागत ढंगले जाने समय नभएको भन्दै खामेनीले उत्तराधिकारी चयन गरिहाल्न निर्देशन दिएका हुन्।
खामेनीले नाम दिएको तीन जना को-को हुन् भन्ने विषय गोप्य राखिएको छ।
खामेनीकै छोरा मोज्तबा पनि एक धर्मगुरू हुन्। तर सर्वोच्च नेता बन्नका लागि आयातोल्लाहले पठाएको तीन जनाको सूचीमा उनको छोराकै नाम भने नरहेको न्युयोर्क टाइम्सले लेखेको छ। मोज्तबा इस्लामिक रिभोलुसनरी गार्ड्स कोरसँग पनि नजिक छन्।
इजराइल र अमेरिकाले चाहेको भए खामेनीको हत्या पहिलो दिन नै गर्न सक्थ्यो भन्ने प्रष्ट सन्देश गत शुक्रबार इजराइलले इरानमाथि गरेको आक्रमणबाट पनि दिएको छ।
त्यसदिन खामेनीका प्रमुख सैन्य सल्लाहकार र विभिन्न सैन्य विभागका प्रमुखहरू मारिएका थिए। त्यसदिन मारिएका सैन्य अधिकारीहरुका ठाउँमा ल्याइएका अधिकारीहरू पनि इजराइली आक्रमणमा मारिएका छन्।
इजराइल वा अमेरिकाबाट आफू जुनसुकै बेला मारिन सक्छु भन्ने ८६ वर्षीय खामेनीले पनि भाँपिसकेका छन् भनेर न्युयोर्क टाइम्सले लेखेको छ। त्यतिमात्रै होइन इजराइली आक्रमणबाट केही दिनमै सद्दाम हुसेनको आठ वर्षे युद्धमा गरेको भन्दा बढी क्षति तेहरानले ब्यहोरिरहेको बताइएको छ।
त्यसकारण अहिले खामेनीले आफ्नो तीन दशक यताको शासनकै सबैभन्दा अनिश्चित क्षण बिताइरहेका छन्।
इरानभित्र घुसपैठको पनि उत्तिकै डर रहेकाले रक्षा मन्त्रालयले सुरक्षा प्रोटोकल लागु गरेको छ। उच्च अधिकारीहरूलाई सेलफोन वा कुनैपनि इलेक्ट्रोनिक उपकरणहरू प्रयोगमा बन्देज लगाइएको छ। वरिष्ठ सरकारी अधिकारीहरूलाई जमिनमुनी बंकरमा बस्न पनि भनिएको छ।
गत साता इरानमाथि हमला शुरू गरेपछि इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सर्वोच्च नेता खामेनीको हत्या गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनुमति मागेका समाचारहरू पनि सार्वजनिक भएका थिए।
त्यतिबेला ट्रम्पले नै खामेनीको हत्या गर्न उचित नहुने बताएपछि इजराइल उनको हत्या गर्ने योजनाबाट पछि हटेको भन्ने समाचारहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले छापेका थिए।
त्यस विषयमा अमेरिका र इजराइल दुवैले असहमति जनाएका छैनन्। सोही विषयमा प्रश्न गर्दा इजराइली प्रधानमन्त्री नेतन्याहूले त अमेरिकाका लागि के राम्रो भन्नेबारे ट्रम्प राम्ररी जान्दछन् भनेर जबाफ फर्काएका थिए।
इरानको आणविक हतियार कार्यक्रम बन्द गर्ने सम्बन्धमा ट्रम्म वार्ताबाटै सहमति जुटाउन सकिनेमा आश्वस्त थिए। आणविक हतियार कार्यक्रमसम्बन्धमा कुटनीतिक प्रयास अघि नबढेपछि ट्रम्पले रिसाएर इरानलाई आत्मसमर्पण गर्न चेतावनी दिएका थिए।
ट्रम्पले बंकरमा लुकेका खामेनीको ठेगाना थाहा भएको तर अहिलेलाई उनलाई मार्ने कुनै योजना नरहेको पनि बताएका छन्।
उनी लुकेको ठाउँ थाहा छ तर कम्तिमा अहिले मार्दैनौं। तर हाम्रो धैर्यताको बाँध टुट्दै गइरहेको छ,’ ट्रम्पले लेखेका थिए। त्यसको तीन मिनेटमा उनले ‘विनाशर्त आत्मसमर्पण’ भनेर लेखेका छन्।
ट्रम्पले अहिले आणविक कार्यक्रममा वार्ता र सहमतिका लागि इरानलाई दुई साताको समय दिएका छन्।
ट्रम्पले वार्ताबाट समस्या समाधानका लागि इरानलाई दुइ साताको समय दिएका छन्। त्यसपछि अमेरिका आफै इरानविरूद्ध आक्रमण गर्ने संकेत ट्रम्पले गरेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
इजराइलले पनि इरानविरूद्धको आक्रमणमा प्रत्यक्ष संलग्न हुन भनेर अमेरिकासँग आग्रह गरिरहेको छ। किनभने इरानका आणविक कार्यक्रमहरू नष्ट बनाउने हतियार केबल अमेरिकासँग मात्रै छ।