गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् कि सिक्किमका ग्वालाहरुले यदि दूधको दाम पाएका छैनन भने आफु कुर्सी छोड्न तयार छु। मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री तामाङले आज एक दिवसीय विधानसभा सत्र अवधि सदनमा दोस्रो अनुपूरक अनुदान माग सदनमा पेश गरेपछि बहसमा भाग लिॅंदै विधायकद्वय एनके सुब्बा र डीआर थापाले उठाएका प्रश्नहरूको जवाफ दिॅंदै उक्त कुरा बताएका हुन्। सदनमा विधायक डीआर थापाले ग्रामीण जनताको आर्थिक स्थितिलाई बलियो बनाउन दूधको दाम बढाउनु पर्छ भन्ने सुझाउ राखेका थिए। यस विषयमा बोल्दै मुख्यमन्त्रीले सरकार पनि दूधको दाम बढाउनु पर्छ भन्ने पक्षमा रहेको बताए। तर, दूधको दाम बढाउॅंदा उपभोक्ताहरूलाई पनि मर्का पर्नु भएन भन्दै उनले यस्ता विषयहरूलाई पनि मध्यनजरमा राखेर सरकारले निर्णय लिनु पर्ने हुन्छ भनी बताए। उनले सरकार पनि ‘लेबर कन्ट्र्याक्ट सिस्टम’ हटाउने पक्षमा रहेको स्पष्ट पारे। लेबर कन्ट्र्याक्ट सिस्टम शुरू गर्ने पूर्व सरकार हो भन्दै उनले यो कानूनी विषय पनि रहेकाले भन्न साथ यसलाई तत्काल समाप्त गर्न नसकिने उनले जानकारी गराए। यसरी हटाएको खण्डमा लेबर कन्ट्र्याक्टरहरू कोर्ट जान सक्छन्, यस कारण सरकार यसलाई कानूनी रूपमा समाप्त गर्ने दिशामा लागि परेको उनले सदनमा बताए।विधायक एनके सुब्बाले सड़क मार्गहरूको स्थितिबारे राखेका कुराहरू विषय बोल्दै मुख्यमन्त्रीले राज्यका सड़कहरूको स्थिति अहिले पूर्वका सरकारको समयमा भन्दा धेरै राम्रो रहेको बताए। पूर्वका एसडीएफ सरकारले केवल चुनाउलाई ध्यानमा राखेर घोषणाहरू गरेको र सड़क निर्माण कार्य पुरा गर्ने विषयमा सोचेको पनि थिएन भनी उनले आरोप लगाए।
उनले यो बजेटमा पनि सड़क निर्माणका लागि १० करोड़ रूपियॉं आवण्टित गरेको सदनमा जानकारी गराए। निर्माण कार्य सम्बन्धी सरकारले नयॉं नीति अपनाएको अवगत गराउॅंदै जबसम्म पुख्ता एनओसी प्राप्त हुॅंदैन तबसम्म निर्माण कार्य शुरू गर्ने छौनौं भनी उनले स्पष्ट पारे।










