मंगन: चुङथाङका महकुमा अधिकारी, पिपन छो बन्दु लाचेन्पा, राजस्व अधिकारी र विभिन्न विभागका अधिकारीहरूले लाचेनको विभिन्न क्षेत्रमा पैह्रोले पुऱ्याएको क्षति आकलन गर्ने उद्देश्यले निरीक्षण गरे। महकुमा अधिकारीको नेतृत्वमा गएको टोलीले क्षयक्षतिको जायजा लिएको छ। यस अवसरमा टोलीसँग विभिन्न नेटवर्क कम्पनीका प्राविधिकहरूले मोबाइल नेटवर्क पुनर्स्थापनाका लागि आफ्नो उपकरणहरू उपलव्ध गराएका थिए। टोलीले विशेष गरेर तत्काल सुरक्षात्मक उपायहरू आवश्यक पर्ने सबै सम्भावित पैह्रो स्थलहरूको भ्रमण गरेका थिए। पैह्रोले क्षतिग्रस्त बनाएका घरहरूको समीक्षा गर्दै क्षयक्षतिबारे पनि अभियन्ताको टोलीले जायजा लिएका थिए। विभिन्न स्थानहरूमा सुरक्षात्मक पर्खाल र ढल निकास प्रणालीको आवश्यकतामाथि पनि जोड़ दिएका छन्। सोही क्रममा टोलीले उक्त स्थानहरूमा औषधि र खाद्यान्नको उपलब्ध भण्डारको पनि समीक्षा गरेको थियो।