गान्तोक: स्वच्छ भारत मिशनअन्तर्गत शहरी विकास विभागले आज नाम्ची जिल्लाको अफिसर्स क्लवमा इङगेज-२०२५ अभियान शुरु गऱ्यो। यस अभियान २४ आवर्स इन्सपार्यसको पहलमा आयोजना गरिएको हो। जसको मुख्य उद्देश्य शैक्षिक संस्थानहरूमा फोहोर व्यवस्थापन अभ्यासहरूमा केन्द्रित एक वर्ष लामो सूचना, शिक्षा र सञ्चार कार्यान्वयन गर्नु रहेको छ। कार्यक्रममा नाम्ची नगर परिषद, जोरथाङ र गेजिङ नगर पञ्चायत, विभिन्न विद्यालय साथै महाविद्यालयका प्रतिनिधिहरूको पनि सहभागिता थियो। कार्यक्रममा शहरी विकास विभागीय मन्त्री भोजराज राई मुख्य अतिथिकारूपमा उपस्थित थिए। सम्बोधनको क्रममा मन्त्री राईले रिड्युस, रियुज र रिसाइकलको सिद्धान्तहरूलाई दैनिक जीवनमा अप्नाउनु पर्ने साथै यसलाई कार्यान्वय गर्नुपर्ने आग्रह गरे। मन्त्री राईले युवाहरूलाई सरसफाई, आत्मनिर्भर र उद्यमशीलतामा केन्द्रित मानसिकता विकास गर्न पनि आह्वान गरे। उनले रोजगारी पहिलो रोजाइ होइन, तर स्वतन्त्र उद्यमीहरूको लागि सहयोग लिने सुझाउ दिए। मन्त्रीले दीर्घकालीन फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन, समाजका सबै क्षेत्रहरूबाट सामुहिक सहभागितालाई प्रोत्साहित गर्न अभियान सक्रिय हुनपर्ने बताए। यसक्रममा नाम्ची सिङगीथाङ निर्वाचन क्षेत्रका विधायक सतीशचन्द्र राईले नाम्चीमा सम्पन्न भइरहेको ‘स्वच्छ र सुन्दर नाम्ची’ अभियानबारेमा अवगत गराए। उनले स्थानीय नागरिकहरूलाई आफ्नो घर र वरिपरि सफाइ गर्न प्रोत्साहित गर्दै सरसफाई कायम राख्न सबैको साझा जिम्मेवारी रहेको बताए। मन्त्री राईले इङगेज २०२५ चलचित्र निर्माण प्रतियोगिताबारेम बोल्दै विद्यार्थीहरूले घरेलु फोहोरको समस्यामा ध्यान आकर्षित गर्न आवासीय क्षेत्रका फुटेजहरू समावेश गर्ने प्रस्ताव राखे। उनले घरबाट नै फोहोर मैला छुट्याउनु पर्ने विषयमा सबैको ध्यान केन्द्रित गराए।