गान्तोक: विश्वकर्म पूजाको अवसरमा सिक्किमका राज्यपाल गंगा प्रसादले सिक्किमवासीलाई शुभकामना व्यक्त गरेका छन्। राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, विश्वकर्म पूजा भगवान विश्वकर्मप्रति समर्पित छ, जो भगवानहरूद्वारा प्रयोग गरिने महलहरू, अस्त्रहरू र वाहनहरूका निर्माता हुन्। हिन्दू धार्मिक विश्वास अनुसार, भगवान विश्वकर्म ब्रह्माण्डका मुख्य वास्तुकार हुन्। उनी सिर्जनाकर्ता ब्रह्माका पुत्र हुन् र भगवानहरू बस्ने महलहरूका आधिकारिक वास्तुकार हुन्। उनी भगवानहरूका सबै उड्ने रथ र अस्त्रहरूका पनि निर्माता हुन्।
राज्यपालले विश्वकर्म पूजा सबै श्रमिकहरू र शिल्पकारहरूले आफ्नो उत्पादन बढ़ाउन, भगवानबाट प्रेरणा लिएर महान कुराहरू बनाउन र महान कुराहरू सोच्न संकल्प लिने अवसर रहेको बताएका छन्। भगवान विश्वकर्मको पूजा गर्नाले कारीगर, मेकानिक, वेल्डर, वास्तुकार, इन्जिनियर र अन्य कारीगरहरूको व्यवसायमा समृद्धि आउॅंछ भन्ने विश्वास रहेको छ। राज्यपालले सबै सिक्किमेहरूमा विश्वकर्म पूजाको न्यानो अभिवादन एवं शुभेच्छा व्यक्त गरेका छन्। उनले यस दिनलाई भगवान विश्वकर्मको पूजा गरेर सिक्किमको खुशी, सफलता र समृद्धिका लागि आशीर्वाद प्राप्त गरौं भनी बताएका छन्।










