कालचिनी – आबकारी विभागद्वारा लगातार नक्कली मिसावटी रक्सीको कारोबारमा नियन्त्रण ल्याउन र अवैध धन्धामा लगाम कस्न चलाइरहेको अभियानको क्रममा बिहीबार राती हाँसीमारा संलग्न भर्नाबारी क्लब लाईनमा छापा हान्दा त्यहाँबाट १२ कार्टून नक्कली असम निर्मित व्हिस्की र खाली बोतलहरू बरामद गर्नको साथै एकजना प्रदिप ग्वाला नामक व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ। आबकारी विभागले जनाएअनुसार असम र मेघालय निर्मित व्हिस्कीको नक्कली मार्का लगाएर नक्कली रक्सी तयार पारेर यसको सप्लाई बिहार राज्यमा गरिरहेको र साथै यस क्षेत्रमा पनि यस्तो नक्कली मिसावटी रक्सीको कारोबार फैलाईरहेको ऱ्याकेट हाँसीमारा कालचिनी क्षेत्रमा सक्रिय रहेको र यसमा असम, कोचबिहार, जलपाइगढी र हाँसीमारा क्षेत्रका दुईजना सामेल रहेको सूचना प्राप्त भएको र उनीहरुमाथि नजर रहेको जनाएका छन्। यस ऱ्याकेटको भण्डाफोर गर्न आबकारी विभाग लागिपरेको र अवैध धन्धा गर्ने यस्ता अपराधीहरु विरुद्ध अभियान जारी रहने बताईएको छ। यससितै सम्बन्धित मदारीहाट क्षेत्र संलग्न ३१ सी राष्ट्रिय राजमार्गबाट आबकारी विभागले एउटा हरियाणा नम्बरको ट्रकलाई पनि जफत गरेको छ भने पक्राउ परेको प्रदिप ग्वालाबाट पाएको बयान मुताबिक उक्त ट्रकलाई समाउन जाँदा चालक भाग्न सफल भएको बताएको छ।










