गेजिङ: राज्यका शिक्षा मन्त्री राजु बस्नेतले बुधबार मानेबु–देन्ताम क्षेत्रका शैक्षिक संस्थानहरूको निरीक्षण गर्दै स्थानीय शिक्षाको वास्तविक अवस्था नजिकबाट बुझ्ने प्रयास गरेका छन्। मन्त्रीको भ्रमण पश्चिम जिल्लाको शिक्षा विकासका लागि एक महत्वपूर्ण प्रयासको रूपमा हेरिएको छ। मन्त्री बस्नेतले देन्तामको सार्वजनिक खेलमैदान, महिला फुटबल अकाडेमी, भोकेशनल कलेज, पीएमश्री देन्ताम वरिष्ठ माध्यमिक विद्यालय र झाँक्रीढुङ्गास्थित सरकारी प्राथमिक विद्यालयको अवलोकन गर्दै पूर्वाधार र शैक्षिक उपलब्धिहरूको समीक्षा गरे। विशेषगरी झाँक्रीढुङ्गा जस्तो दुर्गम क्षेत्रको विद्यालयमा पुगेर विद्यार्थीहरूसंग प्रत्यक्ष अन्तर्क्रिया गर्नु उनको भ्रमणको विशेष पक्ष रहेको छ। उक्त भ्रमणको क्रममा समष्टिका विधायक सुदेशकुमार सुब्बा, देन्ताम महकुमा अधिकृत एनके कार्की, विभागीय अधिकारी तथा अन्य स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो। मन्त्री बस्नेतले शिक्षासँगै पूर्वाधारको विकास र जनताको सहभागिता आवश्यक रहेको बताए। विद्यालय भवन, खेलमैदान, प्रयोगशाला, पुस्तकालय र अन्य कुराहरूमा सरकार र विभाग सदैव लागी परेको बताए। झाँक्रीढुङ्गा प्राथमिक विद्यालयमा बालबालिकासँग अन्तर्क्रिया गर्दै उनले भने, “शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुँदैन, यसले विद्यार्थीहरुको आत्मविश्वास, प्रतिभा र जीवन दृष्टिकोण निर्माण गर्छ।” मन्त्री बस्नेतले राज्यका सबै बालबालिकाले गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने सरकारको दृष्टिकोण दोहोर्यानए। महिला फुटबल अकाडेमीको अवलोकनको क्रममा उनले महिला खेलाडीहरूको उत्साह देखेर खुशी व्यक्त गरे र आगामी दिनमा खेल र शिक्षाको समन्वयमार्फत स्थानीय युवाहरूलाई सक्षम बनाउने योजनाको संकेत दिए। मन्त्री बस्नेतको उपस्थिति र विद्यार्थीहरूसँगको संवादले शिक्षक, अभिभावक र स्थानीय बासिन्दामा उत्साह र आशा जगाएको छ। राज्य सरकारको “समावेशी र गुणस्तरीय शिक्षा” नीतिअन्तर्गत यस्ता स्थलगत भ्रमणहरू निरन्तर भइरहने मन्त्री बस्नेतले बताए। यसले सिक्किमको दुर्गम क्षेत्रहरूमा पनि शिक्षा रूपान्तरणको उज्यालो किरण फैलाउने अपेक्षा गरिएको छ।