गान्तोक: भारतीय हिमालय नालन्दा बौद्ध परम्परा परिषद (आइएचसीएनबीटी) को प्रतिनिधि टोलीले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसँग नयाँ दिल्लीमा भेट गरे। प्रतिनिधि मण्डलको नेतृत्व आइएचसीएनबीटीका अध्यक्ष पद्मश्री थेङसे रिम्पोछेले गरेका थिए। भेटको क्रममा रिम्पोछेले मुख्यमन्त्री तामाङलाई राष्ट्रियस्तरमा परिषद्को कार्यबारे जानकारी गराए। विशेष गरेर अरुणाचलदेखि लद्दाखसम्म फैलिएको हिमालय क्षेत्रमा बौद्ध परम्पराको प्रवर्द्धन र संरक्षण गर्ने प्रयासहरुबारे जानकारी गराए। मुख्यमन्त्री तामाङले हिमालयय बौद्ध समुदायको आध्यात्मिक र सांस्कृतिक सम्वर्धनमा परिषद्को प्रतिबद्धता र योगदानको प्रशंसा गर्दै प्रतिनिधिमण्डललाई सिक्किम सरकारको तर्फबाट उपलव्ध गराउने सहयोग जारी राख्ने बताए। मुख्यमन्त्रीले राज्यमा बौद्ध धर्मावलम्बीहरुको सहयोगमा सिक्किम सरकारले गरेका विभिन्न पहल र विकासात्मक कार्यहरूबारे पनि जानकारी गराए।