कालचिनी – स्वेच्छासेवी संस्था रुरल एडको पहल अनि ग्लोबल फण्ड फर चिल्ड्रेनको सहयोगितामा आजदेखि कालचिनी खण्डको राइमटाङ चियाबारीको २२ धुरा लाईनमा चिल्ड्रेन लाइब्रेरी खोलिएको जानकारी रुरल एडको सचिव सुतपा दत्ताले दिएकी छन्| आज यस चिल्ड्रेन पार्कको उद्घाटन समारोहमा कालचिनीका जोइन्ट बीडीओ शिवलाल शर्मा, अलिपुरद्वार डीएसडब्ल्यूओ तपनकुमार मण्डल, शिक्षा कर्माध्याक्ष प्रेम लामा, राईमाटाङ चियाबारीको प्रबन्धक एवम् अन्यान्य अतिथिहरूको उपस्थिति रहेको थियो|

मूलतः चिल्ड्रेन लाइब्रेरीको उद्देश्यबारे रुरल एड संस्थाका सचिव सुतपा दत्ताले कोरोना महामारी र विश्वव्यापी लकडाउनले बच्चा अनि साना विद्यार्थीहरूमा पठन संस्कृतिको ह्वास हुँदै आइरहेको र मोबाइलप्रति बच्चाहरूको आकर्षणले नकरात्मक असर परिरहेको अवस्थालाई ध्यानमा राखेर यो चिल्ड्रेन लाइब्रेरी राइमटाङ चियाबारीको २२ धुरा गाउँमा शुरु गरिएको र यसले बच्चाहरूमा पठन संस्कृतिको विकास हुने र यसबाट बच्चाहरूलाई थुप्रै क्षेत्रमा विकसित अनि शिक्षित गर्दै लैजान मदत पुग्ने आशा गरिएको जनाएकी छन्|









