गाल (श्रीलंका): कप्तान नाजमूल हसन शान्तो र मुश्फिकुर रहीमको अविजित शतक अनि यी दुईबीच भएको दोहोरो शतकीय पार्टनरशीपको साथ बंग्लादेशले श्रीलंकाविरुद्ध आजदेखि शुरु पहिलो क्रिकेट टेस्ट म्याचमा असाधारण पुनरागमन गऱ्यो। गाल इण्टरनेशनल स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै एक समय ४५ रनमै ३ विकेटको पतन भए पनि बंग्लादेशले शान्तो र मुश्फिकुरको शतकको सहायताले पहिलो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ३ विकेट गुमाएर २९२ रन बनायो। शान्तो र मुश्फिकुरबीच चौथो विकेटको निम्ति २४७ रनको अटूट पार्टनरशीप भइसकेको छ। कप्तान शान्तोले २६० बलको सामना गरेर अविजित १३६ रन बनाएका छन्। उनले १४ वटा चौका र एउटा छक्का लगाइसकेका छन्। यसरी नै मुश्फिकुरले १८६ बल खेलेर अविजित १०५ रन बनाएका छन्, जसमा ५ वटा चौका सामेल छ। श्रीलंकाई बलरहरूमा आज स्पिनर थारिन्दु रत्नायकेले सर्वाधिक २ विकेट लिए। यसअघि आज बंग्लादेशको शुरुवात खराब रह्यो अनि ओपनर अमानूल हक खाता पनि नखोली पाँचौं ओभरमा आउट भए। त्यसपछि रत्नायकेले शादमान इस्लाम र मोमिनूल हकलाई पनि आउट गरे। शादमानले १४ र मोमिनूलले २९ रनको योगदान दिए। यसरी भटाभट ३ विकेटको पतनपछि चाहिँ कप्तान शान्तो र मुश्फिकुरले लड़ाइँ शुरु गरे अनि टीमलाई सम्मानजनक स्कोरसम्म पुऱ्याए।