गान्तोक: प्राकृतिक आपदाले प्रभावित उत्तर सिक्किमको लाचेनको अवस्थामाथि चर्चा गर्न तथा स्थानीयहरूले भोग्न परिरहेका समस्याहरूको सुनवाइ गर्न आज यहाँको टाशीलिङ सचिवालयस्थित मुख्य सचिवको कार्यालयमा विशेष बैठक बस्यो। लाचेन मंगन समष्टिका विधायक तथा समाज कल्याण मन्त्री सामडुप लेप्चाको अध्यक्षतामा बसेको बैठकमा मुख्य सचिव आर तेलाङ र लाचेनका पिपन बन्दु लाचेनपा साथै जुम्साका अन्य सदस्यहरूको विशेष उपस्थिति रहेको थियो। बैठकको चर्चाको केन्द्रमा लाचेन क्षेत्रमा तत्काल राहतकार्य अनि सुरक्षा उपाय रहेको थियो।
बैठकमा क्षेत्रमा अस्थायी पैदल झोलुङ्गे पुलहरूको निर्माण, बिजुली र मोबाइल नेटवर्कको पुनर्स्थापना, लाचेन जुम्सामा आवश्यक बस्तुहरूको आपुर्ति, सरकारी विभागहरूद्वारा प्रभावित क्षेत्रहरूको प्राथमिकता मूल्याङ्कन, पिउने पानी सुविधाको पुनर्स्थापना, १३ वटा काठका पुलको निर्माण आदि विषयमा पनि चर्चा गरियो। यसको साथै लाचेन जाने सड़कमार्ग पुनर्स्थापना बारे पनि बैठकमा विशेष चर्चा गरियो।
बैठकलाई सम्बोधन गर्दै मुख्य सचिव तेलाङले लाचेनवासीले भोग्न परिरहेका समस्याहरूको समाधानको निम्ति राज्य सरकारबाट हुनसक्ने सबै सहयोग प्रदान गर्ने आश्वासन दिएका छन्।