गेजिङ: राज्यको जैविक अभियानलाई सशक्त बनाउने क्रममा याङथाङ सरकारी वरिष्ठ माध्यमिक विद्यालयले उदाहरणीय कार्य गरेको छ। १९४१ मा स्थापना भएको विद्यालयले लामो समयदेखि शिक्षाको क्षेत्रमा उपलब्धिहरू हासिल गर्दै आएको छ। विद्यालयले आधुनिक शिक्षासँगै व्यावहारिक ज्ञानको सन्तुलन गर्दै विद्यार्थीहरूलाई कृषि शिक्षामा सक्रिय रुपमा संलग्न गराएको छ। विद्यालयका प्रधान अध्यापक नारायण बस्नेतको नेतृत्वमा सम्पूर्ण शिक्षक, शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरू मिलेर जैविक हर्दी खेतीसंगै अलैंची खेतीबारे पनि ध्यान केन्द्रित गरेको छ। अभियानमा विद्यार्थीहरुले खेतमा बिउ रोप्नेदेखि उत्पादित हर्दीलाई पिसेर पिठो बनाउने प्रक्रिया सिकाएका छन्। अहिले विद्यालयले उत्पादन गरेको हर्दी स्थानीय बजारमा विक्रिमा ल्याउने तयारी गरेको छ। जसले विद्यार्थीहरूलाई कृषि उद्योग र उद्यमशीलताको व्यवहारिक त्ज्ञान दिलाएको छ। हर्दी खेतीमात्र नभएर अलैंची खेतीमा पनि ध्यान केन्द्रित गरेको छ। सिक्किमको पहाडी भेगको मौसम र माटोलाई मध्यनजर राख्दै विद्यालय परिसरमा अलैंची खेती शुरु गरिएको छ। विद्यार्थीहरूले यस क्षेत्रमा कार्य गर्दै आएका विषयवनिदहरुबाट खेतीबारे जानकारी लिएका थिए।