सोनादा: आशारिका फाउण्डेशनद्वारा बोन टीबी पीडित स्नेहा क्षेत्रीलाई आर्थिक सहायता गरेका छन् भने सहयोगको लागि अपिल पनि गरेका छन्। आशारिका फाउण्डेशनले रङमुक चियाबगान अन्तर्गत चन्द्रमान धुरामा बसोबास गर्ने १८ वर्षीया बोन टीबी पीडित स्नेहा क्षेत्रीलाई ६ हजार रुपियाँ आर्थिक सहायता प्रदान गरेको छ। स्नेहाको अवस्था गम्भीर रहेको र उपचार खर्च अभावले पीडित परिवार ठूलो संकटमा परेको भन्दै फाउण्डेशनले सहयोगको हात अघि बढाएको हो। स्नेहा हाल उनकी आमाले स्याहार गरिरहेकी छन्, जो विगतमा रङमुक चियाबगानमा पत्ती टिप्ने काम गर्थिन्। तर चियाबगान लामो समयदेखि बन्द हुँदा आमासँग छोरीको उपचार खर्च जुटाउने कुनै साधन छैन। डाक्टरी अनुमान अनुसार स्नेहाको उपचारमा लगभग ८ देखि ९ लाख रुपियाँ लाग्नेछ। यस्तो ठूलो रकम बन्द चियाबगानमा कार्यरत श्रमिक परिवारका लागि जुटाउनु अत्यन्त कठिन छ। यही परिस्थितिलाई मध्यनजर गर्दै आशारिका फाउण्डेशनले स्नेहाको लागि सहयोग अभियानको थालनी गरेको छ।
फाउण्डेशनले सबै दयालु मन भएका व्यक्ति, सामाजिक संघ-संस्था तथा समुदायलाई स्नेहाको उपचारमा सक्दो सहयोग गर्न हार्दिक अपिल गरेको छ। “एक सानो सहयोगले एउटा जीवन बचाउन सकिन्छ,” फाउण्डेशनको अपिलमा भनिएको छ। सहयोग गर्न चाहने महानुभावहरूले आशारिका फाउण्डेशनसँग सिधा सम्पर्क गरी आफ्नो सहयोग प्रदान गर्न सक्नेछन्।