जोरथाङ: रोथकको मुहानबाट जोरथाङ क्षेत्रमा आपूर्ति हुँदै आएको पेयजल लगातार धमिलो हुन थालेपछि स्थानीय नागरिकहरुले बारम्बार गुनासो गर्दै आएका थिए। उक्त पानी प्रयोगका लागि अस्वस्थकर बन्दै गएको स्थानीयको गुनासोपछि समस्या समाधानका लागि विभागीय पहल शुरु भएको छ। क्षेत्र विधायक मदन सिञ्चुरीले नागरिकहरुलाई स्वच्छ पेयजल उपलब्ध गराउने उद्देश्यले सम्बन्धित विभागलाई तत्काल सुधारात्मक कार्य गर्ने निर्देशन दिएका छन्। विधायकको उक्त निर्देशनअनुसार विभागले धमिलो पानीलाई छिटोभन्दा छिटो सफा गरेर पुनः सङ्लो पानी आपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ। अहिले पानीको मुहान र प्रशोधन केन्द्रमा नियमित अनुगमन गर्दै आवश्यक सरसफाइ तथा फिल्ट्रेसन प्रणालीलाई दुरुस्त बनाउने काम तीव्र रूपमा भइरहेको छ। स्थानीय नागरिकलाई केही समय धैर्य राख्न अनुरोध गर्दै शीघ्र सुधारको आश्वासन समेत दिइएको छ।