पाकिम: जनजाति बसोबासो गर्ने क्षेत्रहरूलाई समग्ररूपमा दिगो विकास गर्ने उद्देश्यले आज पाकिम जिल्लामा धरती आभा जनजातीय ग्राम उत्कर्ष अभियानलाई लिएर एक समन्वय बैठक सम्पन्न भयो। पाकिम जिल्लाको जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा सम्पन्न भएको बैठकको अध्यक्षता अतिरिक्त जिल्लापाल (मुख्यालय) जीएल मिनाले गरेका थिए। यस अवसरमा प्रमुख शिक्षा अधिकारी नारायण मिश्रा, पशुपालन एवं पशुधन चिकित्सा सेवा विभागका संयुक्त निर्देशक डा. निविदिता प्रधान लगायत विभिन्न विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए। बैठकको क्रममा जिल्लाभरि आयोजन गरिने धरती आभा अभियान जागरूकता शिविरको तयारीबारेमा छलफल गरियो। उक्त अभियान १५ जूनदेखि शुरू भएर १५ जुलाईमा समापन हुने भएको छ। यो कार्यक्रम राष्ट्रीय पहलअन्तर्गत प्रधानमन्त्री जनजाति आदिवासी न्याय अभियान र धरती आभा जनजातीय ग्राम उत्कर्ष अभियान अधिनस्थ शुरू गरिएको हो। जसको उद्देश्य जनजाति समुदायलाई व्यक्तिगतरूपमा उनीहरूको हक अधिकार प्रदान गरेर सुविधा सुनिश्चित गर्नु र ग्रामीणस्तरमा सरकारी योजनाहरूबारेमा जागरूक गराउनु रहेको थियो। यसबाहेक आदिवासी समुदायलाई सशक्त बनाउने अभियानको लक्ष्य रहेको छ। बैठकलाई सम्बोधन गर्ने क्रममा अतिरिक्त जिल्लापाल मिनाले जानकारी गराएअनुसार यस अभियानले जिल्लामा जनजाति समुदायको पाँच गाउँ चिन्हित गरिएको छ भने प्रशासनले त्यसमाथि लक्ष्य राखेर काम गरिरहेको छ। यसका साथै उनले अभियानको उद्देश्यहरूमाथि पनि जानकारी गराए।