गान्तोक: ओभिया आर्ट सर्कल, सिक्किमले समय समयमा सरकारी स्कूल, आईसीडीएस र सरकारी अस्पतालहरूमा सुन्दरीकरणको कार्य गर्दै आइरहेको छ। विशेषगरि सरकारी विद्यालयहरूका विद्यार्थीहरू यस कलाप्रति प्रेरित होस भन्ने ध्येयले यस संस्थाले स्वेच्छिक कार्य गर्दै आइरहेको छ। संस्थाकी अध्यक्ष दीपा राईले चित्रकला एउटा कला मात्र नभएर संस्कृति, सम्पदा तथा इतिहासलाई नै संरक्षण गर्ने बलियो माध्यम साथै पर्यटनको क्षेत्रलाई पनि प्रोत्साहन गर्ने माध्यम रहेको बताइन्। विद्यार्थीहरूको निम्ति पढाइसंगै चित्रकला विषयलाईपनि सैद्धान्तिक र व्यवहारिक ज्ञान अनिवार्य रहेको उल्लेख गर्दै उच्चत्तर माध्यमिक विद्यालय पास गरेर चित्रकला विषषमा प्रवेश गर्दा यस विषयबारे अझै सजिलो रहने बताइन्। वर्तमान समयमा यो कलाको क्षेत्रमा नोकरी मात्र नभएर फ्रीलान्सबाट पनि सस्टेन गर्न सकिने वातावरण बनिँदै गइरहेको बताइन्। वर्तमान सरकारले यस क्षेत्रलाई अघि बढाउन साथै कलाकारहरूको संरक्षण र सम्बर्द्धन हेतु सहयोग गरिरहेको कुरा जनाइन्। स्कुलकी प्रधानाध्यापिका छवि प्रधानले स्कूल तथा कक्षाहरूलाई सुन्दरीकरण गर्नाले विद्यार्थीहरू आकर्षित हुने साथै उनीहरूमा सकारात्मक उर्जा जागृत हुने बताईन्। उनले संस्थाको कलाकारहरूको सिर्जनशीलताले विद्यालयमा केवल रङ मात्र नभरेर यसले विद्यार्थीहरूका लागि सिर्जनात्मक कार्य गर्नमा प्रेरित गरेको बताइन्। संस्थाका कलाकारहरूले दिएका योगदान र जोशको सराहना गर्दै ओभिया आर्ट सर्कलले विद्यालयमा दीर्घकालीन प्रभाव छोडेको उल्लेख गरिन्। संस्थाका महासचिव दिवाकर लामिछानेले विद्यार्थीहरूको विकासमा, स्कुलले लिएको पदक्षेपको खुलेर सराहना गरे। यस स्वेच्छिक कार्यको निम्ति संलग्न प्रतिभाशाली कलाकारहरूमा संस्थाका उपाध्यक्ष सागर सुब्बा, शिव छेत्री, सेवन राई अनि अन्य सदस्यहरु प्रकाश राई र सपना राईको योगदानको पनि सराहना गरे। महासचिव लामिछानेले स्कूलका प्रतिभाशाली कलाकार राकेश कार्कीढोलीलाई पनि आभार व्यक्त गरे।