लण्डन: दुईजना नानीकी आमा अनि क्वालीफायरको रूपमा टुर्नामेण्टमा हिस्सा लिने जर्मनीकी ३७ वर्षीय तात्याना मारियाले प्रेरणादायी प्रदर्शन गर्दै क्वीन्स क्लब टेनिस टुर्नामेण्टको खिताब जितिन्। उनले फाइनलमा अमेरिकाकी अमाण्डा एनिसिमोवालाई ६-३, ६-४-ले पराजित गरिन्। उनले सेमिफाइनलमा अष्ट्रेलियन ओपन च्याम्पियन अमेरिकाकी मेडिसन कीजलाई ६-३, ७-६-ले पराजित गरेकी थिइन्। मारिया गत ५ सालमा कुनै टुर्नामेण्टमा खिताब जित्ने सबैभन्दा अधिक उमेरकी खेलाड़ी बनेकी छिन्। यसअघि २०२०-मा सेरेना विलियम्सले ३८ वर्षको उमेरमा अकल्याण्ड क्लासिकको खिताब जितेकी थिइन्। विम्बल्डनको सेमिफाइनलमा खेलिसकेकी विश्वकी ८६औं नम्बरकी मारियाको यस टुर्नामेण्टको प्रदर्शन असाधारण रह्यो। उनले क्वार्टर फाइनलमा पूर्व विम्बल्डन च्याम्पियन तथा चौथो वरीयता प्राप्त एलिना रायबाकिना र तेस्रो राउण्डमा छैटौं वरीयता प्राप्त केरोलिना मुचोवालाई पराजित गरिन्। ट्रफी जितेपछि मारियाले भनिन्, म यस खेललाई माया गर्छु। म यही सब क्षणहरूको निम्ति खेलिरहेकी छु। आज खिताब जित्न सकेर खुशी छु।