राजधानीमा अनेसासको साहित्यमा पर्यावरणको महत्वबारे विमर्शबाल साहित्यमार्फत प्रारम्भिक चरणमै पर्यावरणीय चेतना विकास गर्न सकिन्छः डा. कविता लामा

IMG-20250615-WA0075

गान्तोक: साहित्य जगतमा पर्यावरणसम्बन्धी मुद्दाको सशक्त उपस्थिति र प्रभावबारे गहन विमर्श गर्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सिक्किम च्याप्टरले हिजो एक कार्यक्रमको आयोजना गऱ्यो। विकास क्षेत्रस्थित नेपाली साहित्य परिषद् प्रेक्षागृहमा सम्पन्न उक्त कार्यक्रम समसामयिक र ज्वलन्त पर्यावरणीय चिन्तनमा केन्द्रित गरिएको थियो। कार्यक्रमका मुख्य अतिथि पद्मश्री पुरस्कारले सम्मानित वरिष्ठ साहित्यकार सानु लामाले विमर्शलाई स्तरीय, विचारपूर्ण र समयसापेक्ष ठहर गर्दै आगामी दिनहरूमा पनि यस्ता विमर्श कार्यक्रम निरन्तर सञ्चालन हुनेमा विश्वास व्यक्त गरे। उक्त कार्यक्रमको अध्यक्षता अनेसास सिक्किम च्याप्टरका अध्यक्ष र वरिष्ठ साहित्यकार रुद्र पौड्यालले गरेका थिए। नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुङ्गेल विशिष्ट अतिथि रहेका थिए। साहित्यमा पर्यावरणको महत्त्व विषयक मूल विमर्श सत्रमा प्रा. डा. पुष्प शर्मा, प्रा. डा. कविता लामा, तथा साहित्यकार उषा शर्माले आफ्ना विश्लेषणात्मक विचार र सन्दर्भगत सुझाउहरू प्रस्तुत गरे। डा. पुष्प शर्माले वैदिक कालदेखि प्रकृति र पर्यावरणप्रतिको आदरभावमा भारतको गहिरो समर्पण रहेको स्मरण गराउँदै आधुनिक मानवले स्वार्थवश प्रकृतिलाई हानि पुऱ्याउने विषयप्रति चिन्ता व्यक्त गरिन्। सोही प्रकारले डा. कविता लामाले बाल साहित्यमार्फत प्रारम्भिक तहमै वातावरणीय चेतना विकास गर्नुपर्नेमा जोड दिइन्। उनले साहित्यले प्रकृतिप्रतिको प्रेम, ममता र संरक्षणको चेतना फैलाउने एउटा सशक्त माध्यमकोरूपमा काम गर्ने धारणा राखिन्। साहित्यकार उषा शर्माले आम जनमानसमा चेतना फैलाउने सन्दर्भमा रेडियोको प्रभावशाली भूमिकामाथि प्रकाश पारिन्। उक्त अवसरमा साहित्य अकादेमी पुरस्कार विजेता युवा बराललाई अनेसास सिक्किम च्याप्टरद्वारा अभिनन्दन गरिएको थियो। कार्यक्रममा केन्द्रिय समिति सदस्य रत्न लक्सम सुब्बाले अतिथिहरूप्रति आभार प्रकट गर्दै संस्थाका विविध गतिविधिहरूबारे जानकारी दिइन्। कोषाध्यक्ष वीणा योञ्जनले संस्थाको भ्रमण प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। कार्यक्रम संचालन अनेसासका पूर्व महासचिव पारसमणि दङ्गालले गरेका थिए। साहित्यिक माहोललाई अझ सजीव बनाउने क्रममा कवि पेम नर्बु शेर्पा, फुर्वा खाण्डु शेर्पा, रिकी ल्हमू, र मुँगा राईले कविता वाचन गरे। साहित्यमा पर्यावरणको मुद्दा आधारित यो विमर्श कार्यक्रमले समसामयिक सामाजिक उत्तरदायित्वप्रति साहित्यकारहरूको सक्रिय सहभागिता हुनुपर्ने स्पष्ट संकेत दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement