भारी वर्षाको कारण पश्चिम जिल्लाका सड़कहरु अवरूद्ध

IMG-20250615-WA0078

गेजिङ: लगातार परेको मुसुलधारे वर्षाले गेजिङ जिल्लाका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ। विशेषगरि गेजिङ बर्मेक क्षेत्रमा पर्ने फ्याङ खोला पुल छेवैमा ठूलो पैह्रो जाँदा लेगशेप हुँदै रुङ्दु–बर्मेक जोड्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ। रुङ्दु नजिकै फ्याङ खोलामा पैह्रो अझै पनि बगिरहेको हुँदा सडक खुलाउने कार्य सुचारु नभएको जानकारी आएको छ। बर्मेकबाट रुङ्दु हुँदै यात्रा गर्ने यात्रुहरूलाई सतर्कता अप्नाउने तथा वैकल्पिक मार्ग प्रयोग गर्ने प्रशासनले अनुरोध गरेको छ। अर्कोतिर, लेगशेप र गेजिङ्गलाई जोड्ने प्रमुख सडक पनि पैह्रोका कारण प्रभावित भएको छ। लेगशेप बजारदेखि आधा किलोमीटरमाथि भिरबाट पैह्रो खस्दा गेजिङ जिल्लालाई अन्य क्षेत्रसँग जोड्ने मुख्य सडक बिहान करिब सात घण्टासम्म पूर्णरूपमा अवरुद्ध रह्यो। सिलगढ़ी, गान्तोक, जोरथाङ जाने यात्रुहरू लामो समयसम्म बाटोमै अलपत्र परेका छन्। फर्कने यात्रुहरू तथा पर्यटकहरू दिनभरि चिन्तित देखिए। यद्यपि दोहोरो प्रयासपछि दिउँसो सडक खोलियो। त्यसपछि यात्रुहरूले ठूलो राहत महसुस गरेका छन्। धेरै दिनसम्म लगातार परेको चर्को घामपछि असार महिनाको पहिलो दिन पश्चिम जिल्लाका केही स्थानमा वर्षा निकै जमेर भएपछि चिन्ता बढ़ाएको हो। भारी वर्षासँगै पैह्रोका घटना बढ्ने आशंका गरिएको छ। यसमाथि स्थानीय प्रशासन गम्भीर देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement